आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सवारी दुर्घटनामा सात जनाको मृत्यु 

शुक्रबार, साउन २९ २०७८

काठमाडौं, l कैलाली, कास्की, कपिलवस्तु, सप्तरी र सुनसरीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । 

कैलालीको चुरे गाउँपालिका–३ पंगाल भासुस्थित सडकमा प्रदेश नम्बर ३–०१–००२३ च ९०५९ नम्बरको जिप आफैं अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सोही गाउँपालिका–६ बस्ने २६ वर्षीया दुर्गा साउद र डोटी जोरायल गाउँपालिका–१ बस्ने ७  वर्षीया एलिसा खडका रहेका  छन् ।

दुर्घटनमा गम्भीर घाइते भएका उनीहरुको पदमा अस्पताल प्रालि अत्तरियामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका चालक सहित ३ जनालाई सोही अस्पतालमा हुँदै थप उपचारको लागि मायामेट्रो प्रालि धनगढी पठाइएको छ । 

यसैगरी कैलालीको गोदावरी नगरपालिका–८ स्याउले चोकमा प्र.३ ०१००१ ग ३७३२ नम्बरको ट्रक र म.२ प २१७८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार कैलारी गाउँपालिका–११ बस्ने १५ वर्षीया बिद्या रानाको मृत्यु भएको छ । दुर्घटनमा गम्भीर घाइते भएकी उनको पदमा अस्पताल अत्तरिया हुँदै नवजीवन अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–५ बस्ने  १७ वर्षीय कृष बम सहित २ जनाको निर्सग अस्पताल धनगढीमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको  छ । 
कास्कीको पोखरा महानगरपालिका–२५ याम्दी पुल नजिक ग.३ च ८३४ नम्बरको जिपले ग.१५ प ५८०२ नम्बरको मोटरसाइकलाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार पोखरा महानगरपालिका–१६ बाटुलेचौर बस्ने ६१ वर्षीय डम्मर बहादुर छन्त्यालको  मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको फिस्टेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ पानीधारास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुषको बुधबार राति घटनास्थलमै मृत्यु भएको छ । हाल फरार सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । 

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित सडकमा प्रदेश नम्बर ३–०१–००१ ग ३७२५ नम्बरको वान्टेन गाडी र मे.१ च ६९२५ नम्बरको पिकअप गाडी एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा पिकअप गाडीका चालक झापा दमक नगरपालिका बस्ने ४२ वर्षीय मेघराज शर्माको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका पिकअप सहचालकको भारदह अस्पताल सप्तरीमा र वानटनमा सवार खोटाङ मझुवागढी नगरपालिका–१० बस्ने ४२ वर्षीय जिवन गिरीलाई सोही अस्पताल हुँदै थप उपचारको लागि नेपाली सेनाको अस्पताल ईटहरीतर्फ लगिएको छ । वान्टेन चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सुनसरीको कोशी गाउँपालिका–४ हरिपुरस्थित सडकमा प्र.१–०१–००१ च ८०३५ नम्बरको गाडीको ठक्करबाट साईकलयात्री सोही गाउँपालिका–२ बस्ने ५५ वर्षीय सूर्य नारायण यादवको बुधबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको विराट नरसिंह होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।