काठमाडौं– एकताको विषयमा छलफल चलिरहे पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माधवकुमार नेपाल समूहलाई पर्खेर नबस्ने निर्णय अनुसार अघि बढेका छन्।
उनले सोमबार स्थायी कमिटीको बैठक राखी विधान संशोधन पारित गराएका छन्। जहाँ अध्यक्ष र महासचिव महाधिवेशनले र अन्य पदाधिकारी केन्द्रीय कमिटीको निर्वाचनबाट हुने प्रस्ताव पारित गराए।
नेपाल समूहले यी सबै विषयमा एकतापछि मात्र छलफल चलाउनका लागि भनेको थियो तर वार्ता र एकीकरणका निम्ति लामो समयसम्म पर्खिँदा पनि निहुँ खोजेपछि ओली अघि बढेका हुन्।
ओलीलाई पछिल्लो समय उपाध्यक्ष बामदेव गौतमले साथ दिएका छन्। सोमबारको स्थायी कमिटी बैठकमा उक्त प्रस्ताव पारित गराउन पनि बामदेवको साथ रहेको थियो।
‘पार्टीमा अध्यक्ष हटाउने अनि एकीकरण गर्ने भन्ने प्रस्ताव हुँदैन, यस्तो लिँडेढिपी मानेर नेपाल समूहलाई पर्खिनु भनेको मुर्खता मात्र हो’, स्रोतले भन्यो,‘पार्टी रोज्ने कि सत्ता भन्ने जिम्मा अब नेपाल समूहसँग छ। बाँकी एकताको आधार मानिने १० बुँदे त पारित भएकै छ नि।’
सोमबार नै उक्त प्रस्ताव केन्द्रीय कमिटीबाट पारित गर्ने तयारी थियो। यो समाचार तयार पार्दासम्म केन्द्रीय कमिटीले प्रस्ताव पारित गरिसकेको छैन।