काठमाडौं। सत्ता राजनीतिमा मात्र नभएर अन्य राजनीतिक दलका आन्तरिक मामलामा पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भूमिका बलियो देखिएको छ।
नेपाली कम्युनिस्ट पार्टीभित्रका भाग्य र भविष्यमा त उनी निर्णायक बन्दै गरेका बेला फरक सैद्धान्तिक विचार राख्ने नेपाली कांग्रेसभित्र पनि प्रभाव पर्ने प्रक्षेपण स्वभाविक बन्न थालेको छ।
नेकपा एमालेभित्र त प्रचण्डले माधवकुमार नेपाल समूहलाई एउटा बलियो खम्बाका रुपमा नै उभ्याइसकेका छन्। एमाले अध्यक्ष ओलीइतरको समूह अहिले नेपाल भन्दा पनि प्रचण्डको भूमिकाको प्रभावकारीताका विषयमा चर्चा गर्छन्। नेपाल समूहका तल्ला तहसम्मका जनवर्गीय संगठनले माओवादीसँग सहकार्य जारी राखेका छन्।
नेपाली कांग्रेस आसन्न १४ औं महाधिवेशनको तयारीमा रहेको छ। केन्द्रको मिति नसार्ने निधो गरेको कांग्रेसले अन्यको भने हेरफेर गर्न सक्नेगरी शनिबार पदाधिकारी बैठक बस्दैछ। प्रचण्डका कारण पुनः सभापतिमा दोहोरिने प्रधानमन्त्री शेरबहादुर देउवाको चाहना पूरा हुन सक्ने भएको छ।
कांग्रेसको आन्तरिक राजनीतिमा प्रचण्डको भूमिका कसरी भयो ?
देउवालाई प्रधानमन्त्री प्रस्ताव गरी निर्वाचित गराउने भूमिकामा प्रचण्ड प्रधान हुन्। अबको डेढ बर्षसम्म सरकारको नेतृत्व गरेका देउवाका लागि महाधिवेशनमा प्रभाव पार्न सक्ने यो सुनौलो शक्ति प्रयोगको अवसर पनि बनेको छ।
भलै उनका बलिया र भरपर्दा सहयोगी मानिने विमलेन्द्र निधि मैदानमा भए पनि देउवाका लागि अन्य खेमालाई आफूतिर तान्न खासै कुनै पनि अप्ठ्यारो छैन।
देउवाले अहिले मन्त्रिपरिषद विस्तार गरिसकेका छैनन्। उनले महाधिवेशनको माहौललाई आफू अनुकुल बनाउने अवसरका रुपमा मन्त्रिपरिषद विस्तार गर्नेछन्। त्यतिमात्र होइन, आउने डेढ बर्षपछि हुने आम चुनावमा टिकट बाँड्ने आश्वासनका आधारमा पनि तल्लो तहसम्म उनको प्रभाव बलियो हुने स्पष्ट छ।
‘राजनीतिमा खेमा भन्ने विषय एकदमै फरक र अवसरवादी हुन्छ। कांग्रेसमा हिजो प्रकाशमान सिंहहरु देउवातिर थिए फेरि अर्को समूहमा पुगे, मिनेन्द्रहरु प्रजातान्त्रिक कांग्रेसमा सँगै काम गरे पनि फरक समूहमा सक्रिय छन्’, उच्च स्रोतले भन्यो,‘शक्ति केन्द्र जता छ र अवसर पाउने अवस्था रहन्छ त्यसले पार्टीभित्रको सत्ता समीकरणमा पनि फेरबदल अवश्य हुन्छ।’
महाधिवेशनमा आफूलाई सहयोग गर्ने सर्तका आधारमा नै कांग्रेसबाट देउवाले मन्त्रिपरिषदमा सदस्य थप गर्न सक्छन्। पहिलो चरणमा त उनले आफ्ना खास मानिने बालकृष्ण खाँण र ज्ञानेन्द्र कार्कीलाई राखीसकेका छन्।
प्रधानमन्त्रीको पद र शक्ति नपाएको भए देउवाका लागि महाधिवेशनमा फेरि सभापति लडेर जित्ने ग्यारेन्टि ५० प्रतिशत थियो भने अव ८० प्रतिशत भइसकेको कांग्रेस नेताहरू नै बताउँछन्। एक जना केन्द्रीय सदस्य भन्छन्,‘प्रचण्डको सक्रियताका कारण प्रधानमन्त्रीमा निर्वाचित हुनुभयो अब सभापतिमा जित्ने बाटो पनि त्यहि भयो।’
देउवासँग निधि टाढा भए पनि बिजयकुमार गच्छादार, सुनिलबहादुर थापा, पूर्णबहादुर खड्कालगायतका बलिया र प्रभाव पार्न सक्ने नेता साथमा रहेका छन्। देउवाइतरमा रहेका कतिपय पनि सरकारमा मन्त्री बन्ने लोभका कारण उनलाई सघाउन आउने अनुमान स्वभाविक हुन थालेको छ।
‘केन्द्र सरकारको नेतृत्वको प्रभाव तल्लो तह, संवैधानिक आयोगका नियुक्तिदेखि कर्मचारीतन्त्रसम्ममा पर्छ। यसकारण देउवालाई अब असहज छैन। शक्ति परिचालनमा पनि उनलाई कसैले जित्न सक्तैन’, स्रोतले भन्यो,‘विदेशी शक्तिको चाहना नै नभए त केही फरक पर्ला तर प्रतिस्पर्धीले अब जित निकाल्ने सम्भावना क्षीण देखिन्छ।’
अहिले सभापतिका आकांक्षी धेरै भएका कारणले पनि देउवालाई शक्तिको परोक्ष प्रयोग गरी जित निकाल्न कठिन छैन। संस्थापनइतरमा रामचन्द्र पौडेल, शेखर कोइराला सभापतिमा दाबी गरिरहेका छन्। कृष्ण सिटौलाले मुख नखोले पनि उनको तयारी सभापतिमा नै रहेको बताइन्छ।
यता विमलेन्द्र निधि, सिंहले पनि सभापतिमा दाबी गरिरहेका कारण देउवाको एउटा टिम उनलाई नै जिताउने अभियानमा सक्रिय भइसकेको छ। ‘अहिले सरकारको गठबन्धनमा रहेका दलहरुलाई पनि देउवासँग नै सहकार्य गर्न सहज हुन्छ। उनका परोक्ष लविङले पनि सामान्य प्रतिशतमा सहजीकरण गर्छ’, स्रोतले भन्यो,‘देउवाका लागि अनुकुल वातावरण छ।’