काठमाडौं । प्रधानमन्त्रीमा बाहल रहँदा सँधैजसो एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्दथे । बालुवाटार निवासबाट नजिकै रहेको शितल निवासमा ओलीको प्रवेश सामान्य जस्तो थियो । राष्ट्रपति कार्यालय शितल निवासले त्यसलाई समान्य र नियमित भेट भन्ने गरेको थियो। प्रधानमन्त्रीमा शेरबहादुर देउवाले शपथ लिएको दिन नै नपुगेका ओली शुत्रबार भने राष्ट्रपति भण्डारीलाई भेट गर्न पुगेका थिए ।
प्रधानमन्त्री निर्वाचित भएपछि देउवाचाहिँ शपथ ग्रहणपछि शितल निवासमा टेकेका छैनन्। आखिर राष्ट्रपति ओली भेटको सन्दर्भ के हुन सक्ला? धेरैले यसलाई अर्थपूर्ण भनेका छन् । करिब दुई घन्टा बसाईका क्रममा अहिलेको राजनीतिक विषयमा ४५ मिनेट गहन कुराकानी भएको बताइन्छ। एमाले केन्द्रीय कमिटीको बैठकमा राष्ट्रपति भण्डारीमाथि सत्ता गठबन्धनले महाअभियोग लगाउनका लागि तयारी गरेको भन्ने चर्चा गरेका ओलीको यो भेटलाई महत्वपूर्ण मानिएको छ ।
अविश्वासको प्रस्ताव ल्याउने सूचना आएको अथवा दल विभाजनसम्बन्धी अध्यादेश आए शितल निवासले के गर्ने भन्ने सन्दर्भमा कुराकानी भएको अड्कल काटिएको छ । प्रधानमन्त्री देउवाले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरी प्रमाणिकरणमा पठाएको खण्डमा शितल निवासले त्यसलाई तत्कालै कार्यान्वयनमा नलैजाने स्पष्ट खाका तयार हुनेछ । एमालेको माधव कुमार नेपाल समूहलाई दल विभाजनका लागि सहयोग गर्ने देउवाले प्रतिबद्धता गरेका छन्।
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहयोगका आधारमा देउवा एमाले विभाजनका लागि अध्यादेश ल्याउने तयारीमा छन् । उक्त विषयको आशंका शुक्रबारको प्रतिनिधि सभा बैठकका क्रममा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले गरेका थिए । देउवालाई बधाई दिने क्रममा नेम्वाङले उक्त संकेत गरेका थिए ।