शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

प्रचण्ड झुकेको ‘कम्फर्टेबल’ कुटनीति, जसले ओलीलाई सत्ताच्युत गरिदियो

मंगलबार, साउन ५ २०७८

काठमाडौं । आकस्मिक रुपमा जनता समाजवादी पार्टीको महन्थ ठाकुरले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेपछि भारतको समर्थन लिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सफल भएको संकेत मिलेको थियो ।

जब देउवाले १६५ जनाको विश्वासको मत पाए लगत्तै ट्वीटरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिए भने भोलीपल्ट टेलिफोन नै गरेका थिए । 

जुन प्रकारले पनि नेपालमा कम्युनिस्टको सत्तालाई विभाजन गरी चिनियाँ प्रभावलाई कमजोर बनाउने रणनीति मोदी सत्ताले लिएको थियो । यसबीच उसले प्रधानमन्त्रीमा रहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएको संकेत गरेको थियो ।  

तर भारतीय संस्थापन जसरी पनि ओलीलाई सत्ताच्युत गर्नका लागि उत्प्रेरित थियो र त्यसका लागि प्रचण्डलाई झकझक्याईरहेको थियो। नेकपाको सरकार गठनका बेलादेखि नै ओलीलाई प्रधानमन्त्री पदबाट हटाउने उसको रणनीति पछिल्लो पटक आएर मात्र सफल भएको बताइन्छ । 

यसको उदाहरण भनेको देउवा निर्वाचित हुनासाथ भारतीय मिडियाले महत्व दिँदै लेखेको सम्पादकीयदेखिका समाचार पनि हुन् । भारतीय मिडियाले ‘भारतनजिक रहेका देउवा प्रधानमन्त्रीमा निर्वाचित’ भनी प्रचार गरेका थिए ।

प्रतिनिधि सभा विघटनको निर्णयपछि ओलीविरुद्धको आन्दोलन सुरु गरेका प्रचण्डले कतिपय अन्तरवार्तामा भारतका लागि कम्फर्टेबल सरकार देउवा नेतृत्वको नै हुने बताएका थिए। यसको व्यापक आलोचना भएको थियो ।  

स्रोतका अनुसार प्रचण्डले यसबीचमा भारतीय जनता पार्टीका महासचिव राम माधवसँग लामो टेलिफोन गरी पटक–पटक ओलीको विकल्पमा सरकार बन्न सके सहयोग हुने बताएका थिए। तर ओली भने नयाँ चुनावका साथ अगाडि बढ्ने तयारीमा थिए  । 

बीचमा उनले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयलसँग भेट गरे पनि धार्मिक एजेन्डामा कट्टर रहेका मोदीको मन दुखाउने गरी राम नेपालमा जन्मिएको र अयोध्या चितवनमा रहेको दाबी गरेका थिए। जसको खुलेर प्रचण्डले विरोध गर्दा मोदी सत्तासँग नजिक हुने मौका पाए । 

लामो समय भारतमा बसी १२ बुँदेसम्म गराएका प्रचण्डले विभिन्न एजेन्सीको माध्यमबाट भाजपा नेतृत्वको सरकारसँग ओली सत्ता गिराउने प्रस्तावमा राजी गराउन सफल भएको चर्चा छ ।