काठमाडौं । केहि समययतादेखि सुस्ताएको सेयरबजारमा आइतबार फेरी हरियाली छाएको छ। नेप्से परिसुुचक ९७ दशमलव दुई एक अंकले बढ्दा ११ अर्ब ६३ करोडको कारोबार भएको छ । आखिर सेयरबजारमा कहाँबाट आइरहेको छ त लगानी ?
नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको असारमसान्तसम्म बैंक तथा वित्त संस्थाहरुले ५० अर्ब ४१ करोड लगानी गरेका थिए । तर गत जेठसम्मा यस्तो लगानी ४४ अर्बले बढेर ९४ अर्ब ५५ करोड पुगेको छ । बैक तथा वित्त संस्थाले सेयरमा गरेको लगानी झन्डै दोब्बरले बढेको देखिएको छ ।
अन्यत्र लगानीका ढोका बन्द भएपछि बैंक तथा वित्त संस्थाहरुले पछिल्लो समय सस्तो दरमा भएपनि सेयरमा लगानी बढाएका थिए । जसले सेयरबजारलाई पनि बुलिस ट्रेन्डमा लग्यो ।
नेपाल राष्ट्र बैंकका अनुसार गत जेठ महिनासम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये मार्जिन प्रकृति कर्जा ८७.६ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै आवधिक कर्जा २४.८ प्रतिशतले, ओभरड्राफ्ट कर्जा २८.२ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा २४.१ प्रतिशतले, बृद्धि भएको छ ।
त्यस्तै रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ११.९ प्रतिशतले, र ट्रष्ट रिसिट (आयात) कर्जा ५३.२ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ५.५ प्रतिशतले घटेको राष्ट्र बैंकको आकडा छ ।
जेठमसान्त सम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २४.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १०.७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २६.३ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २५.२ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह २५.३ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ९.९ प्रतिशतले बढेको छ ।
२०७८ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६५.७ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १३.० प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।
२०७७ जेठ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५.५ प्रतिशत र १३.३ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०७७/७८ को एघार महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा ४०.२ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १९.१ प्रतिशतले, र निर्माण क्षेत्रतर्फको कर्जा १४.६ प्रतिशतले बृद्धि भएको छ ।
यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १५.९ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २५.४ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १८.२ प्रतिशतले बढेको राष्ट्र बताउँछ ।