काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले असार ३० गते बुधवार २४औं वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले प्रधान कार्यालय नक्साल काठमाडौंमा विहान ११ बजे सभा बोलाएको हो । कोभिडको जोखिमलाई ध्यानमा राखी भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीले गरेको हो । सभाले गत आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट कुल ११ दशमलव ५८ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।
कम्पनीको जेठ ४ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू १ अर्ब १२ लाख २३ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।
लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि अन्तिम रुप दिनेछ । उक्त सभा प्रयोजनका लागि कम्पनीले असार १७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा असार १६ गतेसम्म कायम शेयरधनीहरु सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।