शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

अथक यात्री पार्कर दिनेश सुनार, गिनिज बुकमा ५ नाम

सोमबार, असार २८ २०७८

काठमाडौं । एउटा भनाई छ– जब मानिस जीवनको ठूलो दौड समात्छ, उ सँधैभरी अगाडिको मानिसभन्दा तिव्र हुन्छ। तर कतिपय अवस्थामा अरुसँग स्पर्धा होइन, आफैंसँगको प्रतिस्पर्धाको दौडले सफलताको गन्तव्य तय गर्ने पनि ठानिन्छ। विल्कुल यहि सोचभन्दा अलग छैनन् पार्कर खेलाडी दिनेश सुनार। उनले नेपालका तर्फबाट ‘गिनिज बुक अफ वल्ड्र रेकर्ड’मा ५ औं पटक नाम लेख्न सफल भएका छन्। यो अरुसँगको भन्दा पनि आफैंसँगका जीत निकालिरहेका छन् सशस्त्र प्रहरी बल (एपिएफ)का पूर्वजवान सुनार। 

उनी अथक छन्। ‘जीवनमा थकान भन्ने चिज त लक्ष्यहिन भयो भने हुन्छ होला तर मैले देशको नाम लेखाउनका लागि थाक्नु हुन्न’, सुनार भन्छन्।  सुनारले अमेरिकामा ‘द मस्ट ब्याकवार्डस समसल्टस् अगेन्स्ट अन ट्रयाम्पोलाइन इन वन आवरर्स’मा ४ सय ६० पटक ब्याकफिल्प्स् (भित्तामा उल्टिजम्प) गरी नयाँ किर्तिमान कायम गरे। यो तेस्रो थियो। 
उनलाई किर्तिमान राख्ने भोकले छाडेन। चौथो पनि राखे। यो तिर्खाले उनलाई सतायो। पाँचौ पनि विश्व रेकर्ड कायम राखिसके। ‘अझ पनि राख्ने रहर छ। जीवनमा नेपाली हुनुको गर्व त त्यसैमा छ नि’, उनी भन्छन्।
०४८ सालमा राजापानीमा जन्मिएका सुनार जिम्न्यास्टिकमा रुची राख्ने खेलाडी हुन् । उनले सोही ठाउँमा बाख्रा चराउन जाँदा या अन्य कामका लागि गाउँघर, बगरमा उल्टी जम्पको अभ्यास गर्थे।

सशस्त्र प्रहरी बलमा जवान पदमा पनि उनी ०६९ सालमा भर्ना भएका थिए । हाल भने राजीनामा गरिसकेका छन् । सशस्त्र प्रहरीका तत्कालिन महानिरिक्षक (आईजी) सनत बस्नेतले सुनारको सोही कला देखेर जागिर लगाएका थिए।
सोही खेलका कारण नै फ्रेन्चाइज शो ‘अमेरिका गट ट्यालेन्टस’मा छनौट भई उनी वासिङटन डिसीमा पनि चमत्कार देखाएका थिए। २०१८ मा नै उनी वल्र्ड फ्रि रनिङ पार्कर फेडेरेशनको निम्तोमा अमेरिकाको फ्लोरिडामा वल्र्ड च्याम्पियनसीपमा सहभागीताका लागि पुगेका थिए।

सो बेला ८० जना विश्वका उत्कृष्ट पार्करसँग प्रतिस्पर्धा गर्दा उनी आठौं नम्बरमा परेका थिए। नेपाली फिल्महरू हवल्दार सुन्तली, हँसिया, किस्मत–२ लगायतमा उनले स्टन्ट म्यानको काम गरिसकेका छन्।
नेपालमा ‘पार्कर’ खोज्दा निक्कै कम भेटिन्छन्। कम मध्येका पनि दिनेश यति तिक्ष्ण छन् की उनको तुलना सम्भवतः नेपालमा कसैसँग हुँदैन। रबर जस्तो छ ज्यान। जता खुम्चाए पनि खुम्चिने।

‘मस्ट ट्विस्टिङ व्याक फिलिप्स अफ द वाल इन वन मिनट’ टाइटलमा उनले गिनिज बुक अफ वल्र्ड रेकर्डमा पहिलो पटक नाम दर्ता गराएका थिए ‘न्युनतम १५ पटकसम्म गर्नुपर्ने गिनिजबुकमा उल्लेख थियो, मैले १८ पटकसम्म गरेको थिएँ’, उनी सम्झन्छन्,‘यति गरे मेरो देशको नामलाई विश्वमा चिनाउने एउटा आधार बन्न सक्छु भन्ने विश्वास पनि छ ।’
पाँचौ पटक गिनिज बुकमा नाम लेखाउनका लागि अमेरिकामै उनलाई ग्रेटर एक्रोन, हिन्दु सेवा समितिका अध्यक्ष महानन्द लुइँटेल, भुटानी कम्युनिटी एशोसिएशन अफ एक्रोनका अध्यक्ष मनोरथ खनाल, उपाध्यक्ष आका खतिवडा, तेक्वान्दो मास्टर हर्क तिरुवा, सनसाइन प्रोप्राइटर तथा मास्टर कौशिला खनाल, श्री कर्माचार्यलगायतको उपस्थिति रहेको थियो।

दिनेशलाई अमेरिकाको न्युयोर्क स्टेटका सिनेटर जोन सी लुईले सम्मान गरेका गरेका थिए। उनी भन्छन्,‘यो सम्मानले मलाई हौसला दियो। नेपालीको सन्तान भन्दा गर्व लाग्छ’, उनी भन्छन्। दिनेश खोटाङका अति सामान्य परिवारका छोरा हुन्। तर उनमा रहेको असमान्य कलाले आज अमेरिकालगायत विश्व नै चकित बनाउने नाम माथि नाम थपिरहेका छन्।