शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

६ लाख जनालाई १०–१० कित्ता पर्ने, यूनियन लाईफ इन्स्योरेन्सको आईपीओ खुल्यो

बिहिबार, असार २४ २०७८

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आजदेखि आईपीओ विक्री खुला भएको  छ । कम्पनीले रू. ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ विक्री विक्री गर्न लागेको हो ।

आईपीओ निष्कासनका लागि गत जेठ ९ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको कम्पनीले एक महीनामै असार १३ गते अनुमति पाएको हो ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्ये ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ५८ लाख ५ हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो । 

कम्पनीले सर्वसाधारणमा जारी पूँजीको ३० प्रतिशत शेयर विक्री गर्न लागेको हो । हाल कम्पनीको संस्थापक तर्फ चुक्ताभएको ७० प्रतिशत शेयरपूँजी रू. १ अर्ब ५० करोड ५० लाख रहेको छ । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने रू. २ अर्ब चुक्तापूँजी कायम गर्न आईपीओ विक्री गर्न लागेको हो । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १५ करोड पुग्नेछ । 

कम्पनीको आईपीओलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने संकेत गर्ने ‘इक्राएनपि आइआर ट्रिपल बि’ रेटिङ प्रदान गरेको छ । यो आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । 

विक्री प्रबन्धकसँगै आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि

आवेदन दिन सकिने व्यवस्था छ । छिटोमा असार २८ र ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन सकिने यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

नयाँ जीवन बीमा कम्पनीको रुपमा कम्पनीले २०७४ साल असार ६ गतेदेखि औपचारिक रुपमा कारोबार शुरु गरेको हो । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रू. ७३ करोड ७ लाख १४ हजार रहेको छ भने जीवन बीमा कोषमा रू. ६ अर्ब ९० करोड २ लाख १० हजार रहेको छ । 

यस अवधिसम्म कम्पनीले रू. ८ करोड २५ लाख ९ हजार खुद नाफा गरेको छ । कम्पनीले तेस्रो त्रैमाससम्म रू. ५ अर्ब २४ करोड १६ लाख २३ हजार कुल बीमाशुल्क आर्जन गरेको छ । हाल ७० प्रतिशत संस्थापकतर्फको शेयर स्वामित्व रहेको कम्पनीले सर्वसाधारणमा ३० प्रतिशत शेयर विक्री गर्न लागेको हो ।