शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

देउवाको बैठकमा निधिको फड्को, ३ भाईको मिलन कसरी भड्को !

सोमबार, असार २१ २०७८

काठमाडौँ l क्रियाशील सदस्यताको विषय टुंग्याउन मापदण्ड बनाएको भोलिपल्टै सभापति शेरबहादुर देउवाले आफू निकटका नेताहरुलाई बुढानिलकण्ठस्थित निवासमा बोलाएको बैठकमा उपसभापति विमलेन्द्र निधि पनि सहभागी रहेको उच्च स्रोतले जनाएको छ ।

पछिल्लो समय निधिले पूर्व संस्थापनसँग सम्बन्ध र सम्पर्क बढाएपछि देउवासँगको भेट पातलिएको थियो । तर, मापदण्ड बनाएर सदस्यता टुंग्याउन गरेको भोलिपल्टै देउवाले बोलाएको आफू निकटका नेताहरुको बैठकमा निधि पनि सहभागी भएका हन् ।

सभापति शेरबहादुर देउवाले एक कार्यकाल दोहोरिने इच्छासहित केन्द्रीय सदस्यहरूसँग प्रदेशगत रूपमा छलफल गरेपछि बाक्लिएको कांग्रेस नेताहरूको भेटवार्ताको क्रम बढेको छ ।

सभापतिमा दावी गरिरहेका सबैजसो नेताहरू दिनहुँ भेटवार्तामा व्यस्त छन् । सोमबार बिहानै नेता कृष्णप्रसाद सिटौंलाले पार्टीका युवा नेताहरूसँग छलफल गरे भने दिउँसो सुजाता कोइराला निवासमा वरिष्ठ रामचन्द्र पौडेलसहित छलफलमा जुटे । वरिष्ठ नेता पौडेलले सुजाता निवास जानुअघि आफ्नै निवासमा डा. शेखर कोइरालासँग छलफल गरिसकेका थिए भने साँझ प्रकाशमान सिंहसँग पनि संवाद भएको थियो । मंगलबार उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहले तेस्रो ‘लञ्च मिटिङ’गरे ।

उनीहरूबीच असार ७ गते सोमबार निधि निवास र असार ११ गते शुक्रबार कोइराला निवासमा दुई चरण ‘लञ्च मिटिङ’ भइसकेको थियो । कांग्रेसको पुराना नेताहरूका पुत्र भएका कारण नेतात्रयको बैठकलाई कांग्रेसवृत्तमा चासोका साथ हेरिएको छ । तर परिणामका दृष्टिले नेतात्रयको ३ छाक खानाको बैठक उपलब्धीपूर्ण देखिँदैन ।

निधि, कोइराला र सिंह तीनैजनाले आसन्न महाधिवेशनमा सभापति लड्ने घोषणा गरिसकेका छन् । १३ औं महाधिवेशनमा कोइराला र सिंह रामचन्द्र पौडेल नेतृत्वको समूहमा थिए भने निधि सभापति शेरबहादुर देउवा नेतृत्वको समूहमा थिए । अहिले पनि आफूलाई संस्थापन तर्फकै उम्मेदवार बनाउन निधिको प्रयास जारी छ । यद्यपि सभापति देउवाले ‘निधिलाई पनि सभापति लड्ने अधिकार रहेको’ बताएपछि संस्थापनभित्र निधिको उम्मेदवारीबारे नयाँ कोर्स सिर्जना भएको छैन ।

नेताहरुबीच निरन्तर संवाद हुनु स्वभाविक हो । यद्यपि महाधिवेशनको बेला संवाद बढ्दै जाने तर सहमति टर्दै जाने हो भने उपलब्धी शून्य हुने सम्भावना बढी रहन्छ ।