बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पदमा माधव मोह

आइतबार, असार २० २०७८

काठमाडौं ।  नेकपा एमालेका नेता माधवकुमार नेपालले आफूलाई अध्यक्ष बनाउनुपर्ने अडानसँगै अध्यक्ष केपी शर्मा ओलीको माफीलाई घुमाउरो पाराको सर्त बनाएका छन् ।  उनले यसअघि गठित कार्यदल सक्रिय बनाउने र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको हस्ताक्षर फिर्ता सर्त नबन्ने पनि बताइसकेका छन् ।  
अदालतमा विचाराधिन रहेको मुद्दाबाट हस्ताक्षर फिर्ता लिने विषयमा नेता नेपाल तयार नभएपछि अन्ततः एमाले विभाजनको बाटोमा एक कदम उक्लिएको छ ।  आइतबार प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरु पनि नेता नेपाललाई मनाउनका लागि कोटेश्वरस्थित निवास पुगेका थिए ।

प्रधानमन्त्री ओलीले नेता नेपालसँग संवाद गर्न चाहेको र समस्या समाधानका निम्ति दुई नेता वार्तामा बस्न कोटेश्वर पुगेका दोस्रो पुस्ताका नेताले अनुरोध गरेका थिए । संयुक्त हस्ताक्षरको अपिलसहित पार्टी एक रहेको भन्ने सन्देश दिनका लागि गरेको आग्रहलाई पनि नेता नेपालले ओलीले माफी माग्नुपर्ने सर्त अघि सारेर असहमतिको खाका कोरिदिए । ‘नेता नेपालमा कुनै लचकता देखिएन अब पार्टी विभाजनको दिशातिर लाग्यो। उहाँलाई पार्टी जोगाउने भन्दा पनि शेरबहादुर प्रधानमन्त्री बनाउने रहर रहेछ’, स्रोतले भन्यो । 

ओली पक्षका उपमहासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसहित नेता नेपाल पक्षका घनश्याम भुसाल भेटमा सहभागी थिए। उक्त भेटमा भुसालले पनि नेपाललाई सहमतिका लागि दबाब दिए। तर उनी मानेनन् । यता नेता नेपालको यहि अडान रहने हो भने उनीसँग सती जान नसकिने भुसाललगायतका दोस्रो तहका नेताले बताइसकेका छन्। एमालेको जनाधार बलियो बनाउनका लागि महाधिवेशनमा ओलीलाई बहिर्गमन गराउनका लागि सक्रिय हुने उनीहरुको सोच रहेको छ । ‘निर्वाचित अध्यक्षलाई हट भन्न मिल्दैन। गरेका गल्तीमा आत्माआलोचना गर्न भनिनेछ। त्यसो नभए नोट अफ डिसेन्ट लेखिनेछ र महाधिवेशनमा नेतृत्वबाट हटाउन सकिन्छ’, स्रोतले भन्यो ।