शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

देउवाको पुनः उम्मेदवारीका २ कारण !

आइतबार, असार २० २०७८

काठमाडौँ l कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार बिहान आफूनिकट नेताहरूसँग ‘हारजितसँग अब मलाई मतलब छैन तर महाधिवेशन गराएरै छाड्छु’ भनेर आफूमाथि महाधिवेशन नगराउन खोजेको आरोपको प्रतिवाद गरेका छन् भने अर्कातिर पार्टीभित्र जस्तोसुकै परिस्थिति खडा भए पनि आफू सभापतिको उम्मेदवार हो भन्ने सन्देश दिएका छन् ।

देउवा निकट मानिएका सह-महामन्त्री प्रकाशरण महतका अनुसार देउवाले नेतृत्व दोहोर्‍याउन चाहनुका पछि मुख्य दुई कारण रहेको बताएका छन् । संक्रमणकालीन अवस्थामा ग्रुजिरहेको राष्ट्रिय राजनीतिलाई सम्हाल्नुपर्ने दायित्व यतिबेला कांग्रेसमाथि आएको छ । देउवाको नेतृत्वमा पाँच राजनीतिक दल आबद्ध गठबन्धनसमेत बनेको छ । अर्कातर्फ २०७४ को निर्वाचनमा पार्टीले बेहोर्नुपरेको हारको चोट छ । पार्टीलाई पुनर्जीवन दिँदै बहुमतमा पुर्‍याउने अठोट देउवाको छ ।

पार्टीको विधानमा दुई कार्यकालभन्दा बढी सभापति हुन नपाउने व्यवस्था छ । देउवाका लागि पार्टी नेतृत्वभन्दा पनि आम निर्वाचनपछि सरकारको नेतृत्व गर्ने विषय मुख्य प्राथमिकता छ । पार्टी सभापति नभई प्रधानमन्त्री बन्ने सम्भावना कमजोर हुने भएकाले उनी आसन्न महाधिवेशनमा सभपातिको प्रत्याशी हुन लागेका हुन् । संस्थापनपक्षीय सदस्य श्याम घिमिरेका अनुसार जस्तोसुकै परिस्थिति र विकल्प देखापरे पनि देउवा उम्मेदवार हुने दाबी गर्छन् । ‘हारजितसँग मतलब छैन, तर महाधिवेशन गराउँछु भन्नुका पछि पनि उहाँको उम्मेदवारी पक्का हो भन्नेमा दुई मत छैन,’ उनले भने, ‘पार्टीभित्र जस्ता खालका समीकरण बने पनि उहाँ व्याक हुनुहुन्छ जस्तो मलाई लाग्दैन ।’

कांग्रेसले भदौ १६–१९ भित्र महाधिवेशन गराउनैपर्ने संवैधानिक बाध्यता छ । तर कोरोना महामारी र बाढीपहिरोका कारण देखाएर विकल्प खोज्नेतिर नेतृत्वपंक्ति जाने हो कि भन्ने आशंका चलिरहेको छ । देउवाले भने आफ्नो टिमलाई महाधिवेशन हुनेमा सुनिश्चित रहन भन्दै तयारी अघि बढाएका छन् । उनले केही दिनअघि सातै प्रदेशका संस्थापनपक्षीय पदाधिकारी र केन्द्रीय सदस्यहरूसँग आफूले एक पटकका लागि पुनः उम्मेदवारी दिने घोषणा गरेका थिए । त्यसलगत्तै सातै प्रदेशमा तयारी अघि बढाउन उनले आफ्ना विश्वासपात्रलाई थप जिम्मेवारी दिएका छन् ।