काठमाडौं । नेकपा एमालेका पूर्वपदाधिकारी सक्रिय हुनेगरी ०७६, २ जेठमा पार्टीको अवस्थालाई लग्ने अध्यक्ष केपी शर्मा ओलीले तयारी गरेका छन् । उक्त निर्णयका लागि मंगलबार एमाले स्थायी कमिटीको बैठक डाकिएको छ । विपक्षी गठबन्धनमा सामेल भएका माधवकुमार नेपाल पक्षका दोस्रो तहका नेतासँगको सहमतिका आधारमा अध्यक्ष ओलीले उक्त निर्णय लिने भएका हुन्। त्यसअघि बुधबार उनले २८ फागुनमा बनाएको महाधिवेशन आयोजक कमिटी खारेज गर्नेछन् । ‘एमालेको पुरानै केन्द्रीय कमिटी ब्युँताउने निर्णयको तयारी भएको छ। त्यसो हुँदा पूर्वपदाधिकारी पहिलाकै अवस्थामा फर्किनेछन्’, स्रोतले भन्यो,‘त्यसो भए माधव नेपाललगायतलाई गरिएको कारबाही पनि स्वतः फुकुवा हुनेछ ।’ अध्यक्ष ओलीले पार्टी एक गराउनका लागि थालेको यो अन्तिम निर्णय र प्रयत्न हुने छ । यद्यपि जे गरे पनि नेपालले अब ओलीसँग सम्झौता नहुने र विपक्षीलाई धोका नदिने बताएका थिए ।
तर नेपाल पक्षका भनिएका नेता योगेश भट्टराईले हालै मात्र एमाले मिल्नुको विकल्प नरहेको र मिलेर छाड्ने बताएका थिए । एमालेको सरकार गिराउनका लागि कुनै पनि हस्ताक्षर प्रयोगमा नल्याउने र सर्वोच्च अदालतमा पुगेका हस्ताक्षर फिर्ता हुने बताइएको थियो । एमाले एकीकरणको बाटोमा औपचारिक निर्णय गर्नेगरी तयारी थाले पनि सोमबार मात्र मदन भण्डारीको जन्मजयन्तीको अवसरमा भएको एउटा कार्यक्रममा ओली नेपालमाथि खनिएका थिए। उनले नेता नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताउँदै त्यस्तो गर्नका लागि आफूलाई बहुला कुकुरले टोकेको छ र ? भनी कटाक्ष गरेका थिए ।
यति मात्र नभएर शेरबहादुरको कार्यकर्ता भएको आरोप लगाएका उनले प्रचण्डपथमा नेता नेपाल सक्रिय भएको, अक्षम्य अपराध गरेको आरोप पनि लगाएका थिए। यदि एमालेका पूर्वपदाधिकारी ब्युँतिएको खण्डमा नेता नेपालको वरियता तेस्रो हुँदा उनी फर्किएलान् ?
कतिपयले नेता नेपालबाहेकका अन्य फर्किने दाबी गरेका छन् । भारतमा उपचारका लागि जाने क्रममा बरिष्ठ नेता झलनाथ खनालले एकीकरणका लागि लचकता देखाउनका लागि अध्यक्ष ओलीसँग अपिल गरेका थिए । यसैबीच पुरानो केन्द्रीय कमिटी ब्युँतिए पनि २८ फागुनमा एमालेमा आएका माओवादीका २३ जनालाई केन्द्रीय कमटिी सदस्यमा राख्ने ओलीको तयारी रहेको छ । ति मध्येका नेता रामबहादुर थापा बादलसहितका केही नेतालाई स्थायी कमिटीमा पनि राखिने भएको छ ।