शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेदरल्यान्ड्सविरुद्ध चेक रिपब्लिक

आइतबार, असार १३ २०७८

काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत नकआउट चरणको तेस्रो खेलमा आज (आइतबार) राति नेदरल्यान्ड्स र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुँदैछ ।

हंगेरीको पुस्कास एरिनामा हुने नेदरल्यान्ड्स र चेक रिपब्लिकबीच खेल राति ९:४५ बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्न चाहन्छ ।

यस खेलको विजेताले क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछन्। डेनमार्क वेल्सलाई ४-० ले हराएर क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।

नेदरल्यान्ड्सले समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो । समूह चरणमा शतप्रतिशत जित निकालेको नेदरल्यान्ड्सले ३ खेलमा ९ अंक जोडेको थियो  ।

नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई ३-२ ले हराएको थियो भने दोस्रो खेलमा अष्ट्रियालाई २-० ले हराएको थियो । समूह चरणको अन्तिम खेलमा नर्थ म्यासेडोनियालाई ३-० गोल अन्तरले पराजित गरेको थियो ।

तर, बलियो चेक रिपब्लिकविरुद्ध नेदरल्यान्ड्स सहज भएर खेल्नेछ ।

‘मलाई थाहा छ की चेक रिपब्लिकको टिम कति बलियो छ भन्ने । उनीहरु सजिलो टिम हैन,’ नेदरल्यान्ड्सका स्ट्राइकर मेम्फिस डिपे भन्छन्, ‘यस खेल कठिन खेल हुनेछ । हामीले खेल जित्ने हो भने हामीले शतप्रतिशत खेल्नुपर्छ । त्यसका लागि हामीसँग योजनाछ ।’

चेक रिपब्लिकले समूह ‘डी’ बाट नकआउट चरणमा स्थान बनाएको हो  । समूह चरणमा तेस्रो स्थानमा रहेको चेक रिपब्लिकले उत्कृष्ट तेस्रो हुँदै अन्तिम १६ मा स्थान बनाएको हो  । 

चेक रिपब्लिकले ३  खेलमा ४ अंक जोडेको थियो ।  समूह चरणको पहिलो खेलमा स्कटल्याण्डलाई २-० ले हराएको चेक रिपब्लिक दोस्रो खेलमा क्रोएसियासँग १-१ गोलको बराबरीमा रोकिएको थियो । यस्तै अन्तिम खेलमा चेक रिपब्लिक इंग्ल्यान्डसँग १-० ले  पराजित भएको थियो  ।

बलियो डच टिमविरुद्ध चेक रिपब्लिकलाई समेत सहज हुने छैन । तर, डच टोलीलाई पराजित गर्न चेक रिपब्लिकले योजना बनाएको छ  ।

‘हामीले नेदरल्यान्ड्सको खेलको विश्लेषण गरेका छौँ  । उनीहरुले ३० अवसर सिर्जना गरेका थिए,’ चेक रिपब्लिकका मुख्य प्रशिक्षक जारोस्लाभ भन्छन्, ‘हामीले कडा परिश्रम गर्नु पर्नेछ  । उनीहरुको आक्रामक खेललाई रोक्नु पर्नेछ  । उनीहरुलाई रोक्न सकेनौं भने सफल हुने छैनौँ  ।’

नेदरल्यान्ड्स र चेक रिपब्लिकबीच सन् २०१५ पछि पहिलो पटक खेल्न लागेका हुन् । २०१५ को अक्टोबरमा भएको युरो छनोटमा चेक रिपब्लिकले नेदरल्यान्ड्सलाई ३-२ ले हराएको थियो । यस्तै  पछिल्लो ११ खेलमा चेक रिपब्लिकले ५ खेल जितेको छ ।

प्लेयर्स टु वाच –

मेम्फिस डिपे :

नकआउट चरणमा नेदरल्यान्ड्सको मुख्य खेलाडी मेम्फिस डिपे हुनेछन्  । किनकी २७ वर्षीय स्ट्राइकरले समूह चरणमा प्रभावशाली प्रदर्शन गरेका थिए ।

स्पेनिस क्लब बार्सिलोनामा हालै अनुबन्धित डिपेले समूह चरणको ३ खेलमा २ गोल गरिसकेका छन् । त्यसैले उनले चेक रिपब्लिकविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने डच टिमले आशा लिएको छ । गोल गर्न र गोलका लागि असिस्ट गर्न माहिर डिपेले चेक टिमको डिफेन्स लाइनलाई व्यस्त बनाउने अनुमान गरिएको छ ।

डिपेले नेदरल्यान्ड्सका लागि ६७ खेलमा २८ गोल गरिसकेका छन् । उनले नेदरल्यान्ड्सको उमेर समूहबाट समेत खेलेका थिए ।

क्लब फुटबलमा डिपेसँग इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड, फ्रेन्च क्लब लियोन  र पीएसभीबाट खेलेको अनुभव रहेको छ ।

प्याट्रिक शिक :

चेक रिपब्लिकका युवा अट्याकर हुन् प्याट्रिक शिक । जर्मन बुण्डेस लिगा क्लब बायर लिभरकुसेनबाट व्यवसायिक फुटबल खेलिरहेका उनी नकआउट चरणमा टिमको मुख्य हतियारको रुपमा रहेका छन्  । समूह चरणको ३ खेलमा उनले ३ गोल गरेका समेत थिए ।

शारीरिक तथा प्राविधिक रुपमा बलिया  प्याट्रिक ‘लेफ्ट फुटेट’ खेलाडी हुन् । उनी सेन्टर फरवार्ड  र राईट विंगरबाट समेत खेल्न सक्छन् । २५ वर्षीय प्याट्रिकसँग चेक रिपब्लिकको यू-१६, १७, १८, १९ र २१ टोलीबाट खेलेको अनुभव समेत छ ।

राष्ट्रिय टोलीमा उनले २९ खेल खेल्दा १४ गोल गरेका छन् । प्याट्रिकसँग आरबी लाइपजिग, रोमा र साम्पाडोरियाबाट व्यवसायिक खेल खेलको अनुभव समेत रहेको छ ।