काठमाडौं । राजनीतिले कोल्टे फेर्दै सर्वोच्च अदालतको शरणलाई गुहार्न थालेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा शक्ति आर्जनको भयानक तिर्खामा रहेको विश्लेषण हुन थालेको छ । राजनीतिक दलका कतिपय नेताले यस्तो संकेत गरेकै छन्, विपक्षी दलका मुद्दा मामिलाले पनि यहि प्रकारका आँकलन सहितका विज्ञप्ति जारी गर्न थालेका छन् ।
अहिले व्यवस्थापिका र कार्यपालिका कमजोर भएको अवस्थामा सर्वोच्च अदालत नै शक्तिशाली देखिएको छ । खासगरी ५ पुसको प्रतिनिधि सभा विघटनदेखि पुनःस्थापनाका घटनाक्रमपछि सर्वोच्च राजनीतिक रुपमा नै प्रस्तुत हुन थालेको छ ।
‘प्रतिनिधि सभा पुनःस्थापना गरी राजनीतिक अस्थिरतामा सर्वोच्च अदालत प्रवेश गरेको छ । उसले नेकपा विभाजन गरी एमाले र माओवादी ब्युँतायो, यसले झन् विवाद र अस्थिरता पैदा गरेको देखियो’, उच्च स्रोतले भन्यो,‘यसमा प्रधानन्यायाधीश अझ शक्तिशाली बन्ने तिर्खामा रहेको संकेत पनि गरेको छ ।’
राजनीतिक विभाजनसँगै प्रदेशदेखि उपल्ला तहसम्मका कतिपय विवाद सर्वोच्चमा आएर नै टुंगो लाग्ने वा विश्राम लिने उपक्रम चलिरहेको छ। प्रदेश सांसद बर्खास्तगी र पुनःस्थापना, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्या भण्डारीविरुद्धका मुद्दालगायत सबै सर्वोच्च तिर नै केन्द्रित हुन थालेका छन् । ‘यहाँसम्मकी अब त प्रधानमन्त्री नियुक्तिको फैसलाको माग गरी शेरबहादुर देउवाका पक्षमा पनि सर्वोच्चमा उजुरी गरियो र त्यसको बहस चलिरहेको छ’, एक विश्लेषक भन्छन्,‘हामी राजनीतिक प्रणालीभित्र यसका समाधान खोजिरहेका छौं कि, यो प्रणाली गलत छ र प्रधानन्यायाधीश सक्रिय हुनुपर्छ भन्न चाहिरहेका हौं ?’
त्यसो त एमाले नेता घनश्याम भुसालले सामाजिक सञ्जालमा देशको राजनीति प्रधानन्यायाधीश राणा केन्द्रित हुन थालेको निक्कै अघि सार्वजनिक गरेका थिए। उनले देशमा अर्को खिलराज रेग्मीको जन्म गराउने प्रयास भइरहेको सूचना आफूले पाएको र त्यहि गतिमा अहिलेको अवस्था देखिएको सामाजिक सञ्जालमा नै लेखेका थिए । कुनै बेला न्यायपालिकाको प्रमुख रहेका बेला रेग्मीले कार्यपालिका प्रमुखको पनि दोहोरो जिम्मेवारी लिएका थिए, राजनीतिक सहमतिका नाममा। उनले संविधानसभाको दोस्रो निर्वाचन सफल गराए। राणा पनि आगामी निर्वाचनअघि सोही शक्तिको खेलोफड्को र लोभमा रहेको हुन सक्ने अनुमान गरिएको छ ।
‘देशका सबै निकाय आफूनियन्त्रणमा होस् भन्ने चाहना कसलाई हुन्न? अहिले ओलीलाई दोष लगाएका देउवाहरु पनि सोही खोजीमा छन्। राणा पनि त्यहि मौकामा नहुने कुरा हुन्छ र ?’, उच्च स्रोतले भन्यो । सर्वोच्चले कस्तो फैसला दिन्छ र राजनीतिक कुन मोडमा जाला भन्ने अनेक अडकलबाजी चलिरहेका छन्। तर आगामी राजनीतिक दिशाचाहिँ जनता समाजवादी पार्टी (जसपा)को विभाजनतिर पनि जाने प्रक्षेपण गरिएको छ। यस्तै, यो विवादमा कांग्रेस मुछिए उसको पनि विभाजनको बाटोतिरको यात्रा तय हुने बताइन्छ ।