काठमाडौं l नेकपा एमालेका वरिष्ठ नेताद्वय माधव कुमार नेपाल र झलनाथ खनालनिकट नेता जीवन राईको नेतृत्वमा नेकपा एकीकृत दर्ता भएको छ।
सो पार्टी दर्ताका लागि गत वैशाख ७ गते राईले निवेदन दिइएका थिए। राईले बुधबार नै दल दर्ताको प्रमाणपत्र पाएका छन्। उनको पार्टीको चुनाव चिन्ह कलम रहेको छ।

राई अध्यक्ष रहेको पार्टीमा कल्पना गुरुङ उपाध्यक्ष, विनोद खुलाल महासचिव छन्। त्यस्तै, सचिव ऐन विक्रम कुँवर र कोषाध्यक्ष सुशीला खनाल छन्।
एमाले विवाद उत्कर्षमा रहेको बेला नेपाल र खनाल निकट नेताले नै नयाँ दल दर्ता गरेपछि एमाले विभाजन भएको अवस्थामा सोही पार्टीबाट गतिविधि अगाडि बढाइने आकलन गरिएको छ।