बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

स्पेन र पोल्याण्ड भिड्दै

शनिबार, असार ५ २०७८

काठमाडौँ । १६ औं संस्करणको युरोकप फुटबलमा आज (शनिबार)राति स्पेन र पोल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । स्पेन र पोल्याण्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

समूह ‘ई’ को स्पेन पहिलो जित निकाल्ने योजनामा रहेको छ । स्पेन १ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ । पहिलो खेलमा स्पेनले स्विडेनसँग गोलरहित बराबरी खेलेको थियो ।

पोल्याण्ड भने पहिलो जितको लक्ष्यसहित मैदान उत्रने छ । अंक विहीन पोल्याण्ड पुछारमा रहेको छ । पहिलो खेलमा पोल्याण्ड स्लोभाकियासँग २–१ ले पराजित भएको थियो ।

पोल्याण्डविरुद्ध स्पेनका कप्तान सर्जियो बुस्केट्स मैदान फर्कनेछन् । कोरोना संक्रमणको कारण उनले स्विडेनविरुद्धको खेल गुमाएका थिए ।

पोल्याण्डका मिडफिल्डर ग्रेगोर्ज क्रिचोवियक स्पेनविरुद्ध खेल्ने छैनन् ।  स्लोभाकियाविरुद्ध उनले रातो कार्ड व्यहोरेका थिए  ।

ठुला प्रतियोगितामा दुई टोलीबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।

सर्जियो बुस्केट्स  – स्पेन

कोरोना संक्रमणको कारण बुस्केट्सले स्विडेनविरुद्धको खेल गुमाएका थिए । कोरोनाबाट मुक्त हुँदै उनी पोल्याण्डविरुद्ध मैदान उत्रनेछन् ।

३२ वर्षीय डिफेन्सिभ मिडफिल्डरको आगमनसँगै स्पेनले अट्याकमा सुधार आउने छ । बार्सिलोनाबाट क्लब फुटबल खेलिरहेका बुस्केट्स  २०१० को विश्वकप जित्दाका मुख्य खेलाडी समेत हुन् ।

बुस्केट्स बल होल्ड गर्न, लामा सट प्रहार गर्न र अट्याकरलाई बल निकाल्न सिपालु छन् । उनले स्पेनिस टोलीबाट १ सय २३ खेल खेल्दा २ गोल गरेका छन् ।

कारोल लिनेटी – पोल्याण्ड

स्पेनविरुद्ध खेल्दै गर्दा पोल्याण्डका अनुभवी खेलाडी कारोल लिनेटी महत्वपूर्ण खेलाडी हुनेछन् । सिरी ‘ए’ क्लब टोरिनोबाट खेल्दै आएका २६ वर्षीय खेलाडीले स्पेनविरुद्ध प्रभाव जमाउन सक्छन् ।

अघिल्लो खेलमा स्लोभाकियाविरुद्ध कारोलले ७४ मिनेट खेल खेल्दै १ गोल गरेका थिए । अग्रपंक्तिमा कारोलले रोबर्ट लेवाण्डोस्कीलाई साथ दिनेछन् ।

पोल्याण्डको उमेर समूहको यू–१५,१७, १९, २१ बाट खेलेका कारोलले सिनियर टोलीबाट ३३ खेल खेल्दा ३ गोल गरेका छन् ।