काठमाडौं l नेकपा (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधव पक्षका युवा नेताहरूलाई आफ्नो पोल्टामा परी एक दुई दिनभित्रै एमालेको संयुक्त स्थायी कमिटी बैठक बसी माधव नेपाललाई बैठकबाटै आउट गराउन विभिन्न रणनीतिमा लागेका छन् ।
सो बैठकमा उपस्थित हुन सबैलाई निमन्त्रणा गर्ने तर सर्वोच्च अदालतको आदेशअनुसार कुनै पनि विज्ञप्ति जारी नगरी पार्टी कारबाही प्रक्रिया अघि बढाउने पक्षमा ओली लागेका छन् ।
सर्वोच्चले ओलीले बनाएको एमाले दशौं महाधिवेशन आयोजक कमिटीलाई अवैध ठहर गरिसकेको छ । जसकारण एमालेको राजनीति ०७५ जेठ २ कै पूर्ववत् अवस्थाबाट सुरु हुनुपर्ने माधव पक्षको माग छ । तर, ओलीले त्यसलाई पनि अस्वीकार गर्ने भएका छन् ।
लगभग अलग अलग हुने अवस्थामा पुगेका केपी ओली पक्ष र माधव नेपाल–झलनाथ खनाल पक्षबीच एकताका लागि नेताहरुले पहल गरिरहेका छन् ।
लामो समयदेखि आफ्ना–आफ्ना पक्षका बैठक बसिरहेकोमा संयुक्त स्थायी कमिटीको बैठकको तयारी भएको ओली पक्षका नेता तथा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन् । दुवै पक्षका नेताहरुबीच कुराकानी भइरहेकाले एकरदुई दिनमै बैठक बस्न सक्ने उनको भनाइ छ ।
पानी बाराबारको अवस्था अहिले सामान्यतर्फ गइरहेकाले सहमति भएर पार्टी एकता हुन्छ भन्नेमा आशा पलाएको माधव नेपाल पक्षका एक नेताले बताएका छन् ।