काठमाडौं। एमाले बरिष्ठ नेता झलनाथ खनालको मिर्गौलामा समस्या देखियो, उनको स्वास्थ्य थप अस्थिर बनेपछि भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालका लागि गएका छन्।
नयाँ दिल्ली जानुअघि उनले एमाले एकीकृत बनाउनका लागि अपिल नै जारी गरेका छन्। उनलाई अस्पतालमा भेट्न एमाले महासचिव ईश्वर पोखरेल पुगेका थिए। नयाँ दिल्ली उड्नुअघि उनले आफू फर्केर आउने नआउने टुंगो नभएकाले पार्टी एक बनाएर अघि बढ्नका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाललाई आग्रह गरी अपिल नै प्रकाशित गरेका थिए।
पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष समेत रहीसकेका खनालको अपिलले एमाले एकीकरणका लागि बाटो खुलाउला?
बुधबार मात्र एमाले स्थायी कमिटीको बैठक बस्ने भनिएको थियो। अहिले नेपाल समूह संस्थापनको विरोधमा उत्रिएको छ भने प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षसँगको खेमामा उभिएको छ।
तैपनि प्रधानमन्त्री ओलीले एमाले एकीकरणका लागि बारम्बार लचकता अपनाएका छन्। उनले केही दिनअघि ६ बुँदे अपिल पनि जारी गरेका थिए। नेपाल पक्षका केही नेता यस अपिलमा सकारात्मक रहेको र प्रदेशबाट नै एमाले एकीकरणको दबाब सुरु भए पनि नेपाल सक्रिय देखिएका छैनन्।
उनी जसरी पनि ओलीको राजीनामालाई बटमलाइन बनाएर अघि बढीरहेका छन्। यस्तो बेलामा खनालको अपिलले कति काम गर्न सक्ला? एक जना स्थायी कमिटी सदस्य भन्छन्,‘ज्यानको भन्दा पनि पार्टीको बिरामप्रति गम्भीर देखिनुभएका बरिष्ठ नेताको अपिललाई अध्यक्ष र नेता नेपालले मान्नुपर्छ। अब एमाले एक ढिक्का बनाई उक्त अपिलको सम्मान गर्ने काम गरौं।’
महासचिव पोखरेलले एमाले एकीकरणका लागि निक्कै मिहेनत गरिरहेको र छलफलका लागि दुवै पक्षसँग सक्रिय हुने बताइसकेका छन्। उनले पार्टीमा विभाजन आउन नदिनका लागि बरिष्ठ नेताको भनाईलाई सक्रियताका साथ पूरा गर्न लागि पर्ने पनि बताइसकेका छन्।
‘बरिष्ठ नेताको यो अपिल कोसेढुंगा साबित बनाउनु नै हाम्रो कर्तव्य हुनेछ’, ति स्थायी कमिटी सदस्य भन्छन्,‘अब पनि एकीकरणका लागि लचकता अपनाइएन भने एमालेको भविष्य अर्को पुस्ताले तय गर्नेछ।’