काठमाडौं । जेठ २० गतेदेखि रोक्का रहेको खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर कारोबार सोमवारदेखि फुकुवा भएको छ । कम्पनीले वित्तीय विवरणहरु नेप्सेमा पेश नगरेको भन्दै कारोबार रोक्का गरिएको थियो ।
कम्पनीले जेठ २६ गते कम्पनीको लगइन बाट नेप्सेको वेवसाइटमा लगानीकर्ता र सरोकारवाला निकायहरुले अध्ययन गर्न सक्ने गरी अपलोड गरेकाले नेप्सेले कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । कम्पनीले आगामी दिनमा समयमै वित्तीय विवरण पेश गर्ने प्रतिवद्धता सहितको पत्र नेप्सेमा पठाएकाले समयमै वित्तीय विवरण अपलोड गर्न सचेत गराउँदै कारोबार फुकुवा गर्ने निर्णय गरेको नेप्सले जानकारी दिएको छ ।
कम्पनीले जेठ २३ गते चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको थियो । उक्त वित्तीय विवरण अनुसार कम्पनी रू. ९ करोड ९० लाख ५७ हजार खुद नोक्सानीमा रहेको छ ।
गत वर्षको यसै अवधिको तुलनामा भने कम्पनीको खुद नोक्सानीमा कमि आएको हो । गत वर्ष यस अवधिसम्म कम्पनी रू. १० करोड १२ लाख २६ हजार खुद नोक्सानीमा थियो । यस वर्ष आम्दानी बढेकाले कम्पनीको सञ्चालन नाफा पनि बढेको छ ।
गत वर्ष विद्युत विक्रीबाट रू. ३ करोड ५६ लाख ६७ हजार आम्दानी गरेको कम्पनीले यस वर्ष भने रू. ७ करोड २६ लाख १२ हजार आम्दानी गरेको छ । गत वर्षभन्दा यस वर्ष बैंकको व्याजदर बढी तिर्नुपरेकाले कम्पनीको नोक्सानी सुधारमा असर परेको देखिन्छ । गत वर्ष रू. ६ करोड ३४ लाख ७२ हजार बैंक व्याज तिरेको कम्पनीले यस वर्ष रू. ८ करोड ६४ लाख १ हजार तिरेको छ ।
हाल रू. ४६ करोड ५७ लाख १४ हजार चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोष रकम रू. ६६ करोड २० लाख १ हजार ऋणात्मक रहेको छ । कम्पनीको दिर्घकालिन कर्जा रू. ८६ करोड ४५ लाख ८६ हजार छ ।
गत वर्ष यो कर्जा रू. ८७ करोड ६३ लाख ६६ हजार थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको दिर्घकालिन कर्जा रकम कम भएको हो । खुद नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर आम्दानी रू. २१ दशमलव २७, र प्रतिशेयर नेटवर्थ रू. २९ दशमलव ४१ ऋणात्मक रहेको छ ।