काठमाडौं । नेकपा एमालेभित्र दबाब र विवादकाबीच खगराज अधिकारी गृहमन्त्रीमा नियुक्त भए । एक पटक स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालिसकेका उनको गृह मन्त्रालयको जिम्मेवारी कति लामो जाने हो स्पष्ट भने छैन ।
राजनीतिक संक्रमणकाल र प्रतिनिधि सभा विघटनको मुद्दा अदालतमा विचाराधिन अवस्थामा रहेका कारणले उनको कार्यकाललाई यकिन समयसीमा दिन असम्भव रहेको छ। यद्यपि उनले प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी मुख्यालयको भ्रमण गरी चुनावी सुरक्षाका लागि तयार रहन भनेका छन् ।
यसक्रममा भरपर्दा प्रहरी अधिकारीलाई ७ प्रदेशको जिम्मेवारीमा राख्नका लागि उनको निर्देशन छ । खासगरी नेपाल प्रहरीका सरुवा हुन लागेका प्रहरी नायव महानिरिक्षक (डिआईजी)हरुको विषयमा उनले चासो लिएका छन् । लामो समयसम्म गृह मन्त्रालय खाली हुँदा सरुवा सम्भव भएको थिएन ।एक बर्षभन्दा बढी प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेका कारण उनीहरूको सरुवाको प्रक्रिया अगाडि बढाइने भएको हो । गृहमन्त्री नभएका कारण मन्त्रालयले सरुवा प्रक्रियामा प्रहरी प्रधान कार्यालयसँग समन्वय गरिरहेको थिएन । गृहमन्त्रीको निर्देशन अनुसार प्रहरी महानिरिक्षक (आईजी) शैलेश थापा क्षत्रीले सरुवाका लागि प्रस्ताव तयार पारिरहेका छन् । मन्त्रीस्तरीय निर्णय गर्नका लागि रामबहादुर थापा बादलको पदमुक्तिसँगै रोकिएको थियो । केही समय उक्त मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओलीसँग रहे पनि ध्यान पुगेको थिएन ।
१ नम्बरका डिआईजी इश्वर कार्की, २ नम्बरका धीरजप्रताप सिंह, बागमती प्रदेशका बसन्तकुमार लामा, गण्डकीका घनश्याम अर्याल, लुम्बिनीका रविन्द्रबहादुर धानुक, कर्णालीका बसन्त पन्त र सुदूरपश्चिम प्रदेशका उत्तम सुवेदीको सरुवा गरिन लागेको हो । प्रमुखका रुपमा काम गरे पनि अपराध अनुसन्धानमा दख्खल राखेका डिआईजी सिंहलाई केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)मा खटाउने तयारी भएको छ। यसैगरी, सुदूरपश्चिम प्रदेशका सुवेदी र लुम्बिनीका धानुकसमेतको सीआईबीका लागि चर्चा छ। यस्तै प्रदेश नं. १ नम्बरका डिआईजी कार्कीलाई प्रधान कार्यालयमा राख्ने तयारी गरिएको छ ।
सीआईबी प्रमुख सहकुल थापा १ नम्बर प्रदेश प्रमुखमा पठाउने प्रस्ताव तयार भएको छ। सकभर अहिलेसम्म इञ्चार्ज नपाएकालाई दिने तयारी छ । तर सरकारको रणनीतिका आधारमा नै चुनाव लक्षित गरी सरुवा हुन सक्छ ।
डिआईजी दिवेश लोहनीलाई अख्तियार दुरुपयोग अनुसन्धान पठाउने तयारी भएको छ भने अरुणकुमार बीसीलाई प्रधान कार्यालयमा नै तान्ने तयारी भएको बताइन्छ। प्रहरी प्रधान कार्यालय अन्वेषण निर्देशनालयका मुकुन्द आचार्यले यसअघि नै धानुकलाई बीचमै सरुवा गराउने र लुम्बिनी प्रदेशमा सरुवा हुनका लागि दौडधूप गरेको चर्चा थियो ।
उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलमार्फत गणेश ऐर लुम्बिनीमा जान चाहे पनि उनको बागमती प्रदेशमा सम्भावना रहेको बताइन्छ। प्रदेश प्रमुखको दौडमा डिआईजीहरु प्रकाश अधिकारी, पुरुषोत्तम कँडेल, देवबहादुर बोहरा, उमेश रंजितकार र राजेशलाल कर्ण रहेका छन् । यता सशस्त्र प्रहरीका सीमा सुरक्षा बेस क्याम्प (बीओपी)लाई चाहिने जनशक्तिका विषयमा पनि गृहमन्त्री अधिकारीले चासो राखेका छन् । उनले सशस्त्र प्रहरी महानिरिक्षक (आईजी) शैलेन्द्र खनालको प्रशंशा गर्दै अब निर्वाचन सुरक्षा समेतलाई ध्यानमा राखेर अघि बढ्न निर्देशन दिएका थिए ।