शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

कांग्रेसमा उदय होला कोइराला युग ?

आइतबार, जेष्ठ ३० २०७८

काठमाडौं । आगामी १६ देखि १९ भदौसम्म महाधिवेशन सक्ने गरी नेपाली कांग्रेस अगाडि बढेको छ । नयाँ नेतृत्वका विविध कोणका चर्चा छन् भने अनेक गठजोडका आ–आफ्नै दाबी छन् । एक कार्यकाल सभापति चलाइसकेका शेरबहादुर देउवा दोहोरिन चहान्छन् भने उनका मिँयोका रुपमा देखिएका उप सभापति विमलेन्द्र निधि सभापति हुने इच्छामा छन् ।  अर्का उप सभापति बिजयकुमार गच्छादारलाई व्यवस्थापन गर्नुपर्ने देउवामा चुनौति छ । अन्यथा, समीकरण बदलेको खण्डमा नेतृत्वमा आफ्नो पञ्जाबाट उम्किने खतरा छ । कांग्रेसमा सबै पक्षका आफ्नै तयारी छन् ।  तर सबै पक्ष महाधिवेशनका लागि तयार पनि छन् ।  यसैले विहीबार केन्द्रीय समितिको बैठकले प्रस्तावित मिति पारित गरेको खण्डमा महाधिवेशन हुनेछ । 

गाउँ नगर वडाको अधिवेशन ६ साउनमा गरिनेछ भने पालिकाको ११ साउनमा सम्पन्न गर्नुपर्ने प्रस्ताव गरिएको छ । प्रदेश सभा र क्षेत्रीय अधिवेशन १६ साउनका लागि तोकिएको छ ।प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २० साउनमा हुनेछ। एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा भने २४ साउनमा अधिवेशन गर्न प्रस्ताव गरिएको छ । १ र २ भदौमा प्रदेश सभाको अधिवेशन सम्पन्न गरी १६ भदौदेखि महाधिवेशन काठमाडौंमा गरिनेछ । नयाँ नेतृत्वका लागि कांग्रेसमा अनेक प्रकारका समीकरणका अभ्यास जारी छन् ।  सभापति देउवा दोहोरिन चहान्छन् ।  आफू दोहोरिने हो भने उनले उपसभापति बिमलेन्द्र निधिसँग सम्झौता गर्नुपर्ने अवस्था रहेको छ। यसो हुँदा सभापति देउवासँग निधिको सर्त छ, पदाधिकारीमा नयाँ पुस्ताका विश्वप्रकाश शर्मा र गगन थापालाई रोक्नुपर्ने। तर, उनीहरुलाई नरोके निधि आफैं सभापतिको उम्मेदवार बन्ने दाबीमा छन् ।   

कोइराला परिवार पनि नेतृत्वमा उदाउने तयारीमा छन् ।  उक्त परिवारबाट शेखर कोइराला सभापतिका लागि दाबेदार छन् र महामन्त्री शशांक कोइराला र सुजाताले सघाउनेछन्। उक्त परिवारले नयाँ पुस्तालाई महामन्त्रीमा स्थान दिने तयारी गरेको छ। कोइराला परिवारलाई रोक्नका लागि कृष्णप्रसाद सिटौलाको अर्को प्यानल तयार हुन लागेको बताइएको छ। यसका लागि उनले अहिलेदेखि अभ्यास थालेका छन् ।  

कोइराला परिवारको उदय सम्भव छ?
सभापति देउवालाई साथ नदिने र कोइराला परिवारबाट नेतृत्वमा उदय गराउने सहमतिका लागि सुजाता कोइरालाको निवासमा भएको छलफलमा सहभागी उनै सिटौला तेस्रो समूहको नेतृत्व गरेर कोइराला परिवार रोक्ने अभियानमा लागेका छन् । 
कोइराला परिवारको समीकरणमा आउँदा सिटौलालाई उपसभापति र गगन थापालाई महामन्त्री दिनेसम्मको तयारी भए पनि यो छलफल टुटीसकेको स्रोतले जनायो । 

देउवा आफैं सभापति उठ्ने या सभापतिमा निधिको दाबी भए आरजु राणालाई उपसभापति र संसदीय दलको नेता बनाउने समझदारीका साथ महाधिवेशनमा जाने तयारीमा छन् । तैपनि सजिलोचाहिँ छैन। कोइराला परिवारका तर्फबाट भने महाधिवेशनमा हस्तक्षेपकारी भूमिकासहित अगाडि आउने अभ्यास जारी छन् ।  जीपी फाउन्डेशनले हालै गरेको एउटा कार्यक्रममा पूर्वको सुनसरीमा देखिएका शेखर, शशांक र सुजाताले तीन जना मध्य एक जना सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका थिए। तीनै जनामा कुनै विवाद नरहेको पनि उल्लेख गरेका थिए। यस पटक बरिष्ठ नेता रामचन्द्र पौडेललाई अगाडि बढाउन नसकिने ठहरका साथ सिटौला समूहले देउवालाई सहयोग गर्न सक्ने देखिन्छ । 

कोइराला–गच्छादार समीकरणको सम्भावना
देउवाले निधिलाई च्यापेको खण्डमा प्रभाव राख्न सक्ने र महाधिवेशनका लागि ठूलो संख्यामा प्रतिनिधि पाएका गच्छादारको समूहसँग कोइराला परिवारले सहकार्यको प्रस्ताव अघि बढाउनेछ । कोइराला परिवारसँग गच्छादारको गतिलो सम्बन्ध नभए पनि पछिल्ला दिनमा समीकरण बनाउने विषयमा छलफलचाहिँ चलिरहेको छ । गिरीजाप्रसाद कोइरालासँगको टसलका कारण नै गच्छादारले कांग्रेस छाडेका थिए । तर, अब गच्छादारलाई पनि देउवाले नसमेट्ने र निधिलाई बोकेर हिँडे कोइराला परिवारको वर्चश्वका लागि सहकार्य हुन सक्ने स्रोतहरुको दाबी छ ।