शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

युरोकप : फिनल्याण्डको विजयी सुरुवात

आइतबार, जेष्ठ ३० २०७८

एजेन्सी । फिनल्याण्डले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ ।

कोपनहेगनमा शनिबार राति डेनमार्कलाई १-० गोल अन्तरले पराजित गर्दै फिनल्याण्डले सुखद सुरुवात गरेको हो ।

फिनल्याण्डको जितमा जोएल पोहनपालोले निर्णायक गोल गरे । जोएलले खेलको ५९ औं मिनेटमा गोल गरेका थिए ।

यस्तै डेनमार्क पेनाल्टीमा गोल गर्न चुकेको थियो । खेलको ७४ औं मिनेटमा पिएरे इमिल गोल गर्न चुकेका थिए । फिनल्याण्डका खेलाडीले युसुफ पाउलसेनलाई लडाएपछि पाएको पेनाल्टीमा इमिलको प्रहार फिनल्याण्डका गोलकिपर लुकासले बचाएका थिए ।

युरोकपमा फिनल्याण्डको यो ऐतिहासिक जित हो  ।

पहिलो पटक युरोकप खेलिरहेको फिनल्याण्डको युरोमा यो पहिलो जित हो ।

जितसँगै समूह ‘बी’ को फिनल्याण्डले पहिलो खेलमा ३ अंक जोडेको छ ।

डेनमार्कले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

फिनल्याण्डले ऐतिहासिक जित निकाल्दा डेनमार्कले भने दुखद घटनाको सामना गर्नु परेको छ ।

डेनमार्कका विंगर क्रिस्टियन एरिक्सन अचेत भएर मैदान ढलेपछि डेनमार्क स्तब्ध भएको थियो । खेलको ४३ औं मिनेटमा एरिक्सन अचेत भएका थिए ।

तर, मैदानमा चिकित्सकको आकस्मिक उपचारपछि एरिक्सनको होस खुलेको र उनी बोल्न सक्ने भएको डेनिस फुटबल एसोसियनले जनाएको छ । उनलाई थप उपचारको लागि अस्पताल लगिएको समेत एसोसियनले जनाएको छ ।

एरिक्सनको स्वास्थ्यमा सुधार आएपछि दुबै टिमसँगको छलफलपछि खेल पुन: सुरु भएको थियो ।