काठमाडौं । १४ बर्ष यताको राजनीतिक अवस्थामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्थिरताका खलपात्रका रुपमा स्थापित हुन थालेका छन्। ०६५ सालमा पहिलो पटक प्रधानमन्त्री बनेका उनले नेपाली सेनाका तत्कालिन प्रधानसेनापति रुक्माङ्गत कटवाललाई कारबाही, पशुपतिका भट्टलाई कारबाही गर्नेलगायत हिन्दूत्व मास्नका लागि क्रिश्चियनलाई सक्रिय बनाएका थिए। जसका कारण उनका कदम रोक्नका लागि तत्कालिन राष्ट्रपति रामवरण यादवदेखि आम मानिस उनको प्रतिरोधमा उत्रिएका थिए। ‘नागरिकले देशमा शान्ति र स्थिरताका लागि माओवादीलाई त्यसबेला पत्याएका थिए। तर, यो प्रक्रियामा आए पनि प्रचण्डको राजनीतिक कदमले अहिलेसम्म शान्ति स्थापना हुन सकेन’, स्रोतले भन्यो।
प्रचण्डको कार्यकालमा नै पहिलो संविधानसभा विघटन भयो र निर्दलीय सरकारका रुपमा खिलराज रेग्मीको नेतृत्वमा अर्को चुनावी सरकार गठन भएको थियो। उक्त सरकारले चुनाव गराए पनि माओवादी खुम्चियो तर राजनीतिक अस्थिरता र संसदीय कुरुप काममा प्रचण्ड रोकिएनन्। भूकम्पको प्रभावका कारण नेपालमा संविधान जारी भए पनि त्यसपछि सत्ताको खेलको अस्थिर काममा प्रचण्ड सक्रिय भए। त्यसको पहिलो शिकार बनेका थिए तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली।
उनको पहिलो कार्यकालमा अविश्वासको प्रस्ताव दर्ता गर्दै कांग्रेससँगको सहकार्यमा आफैं प्रधानमन्त्री बनेका प्रचण्डले अर्को चुनाव आउनुअघि फेरि धोकाधडी गरेका थिए। उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई धोका दिँदै फेरि ओली र एमालेसँग गठजोड गरे। जसका कारण गुमिसकेको माओवादीको विरासतले औतिने मौका पायो।
‘माओवादी बलियो हुने अवस्था आएपछि नेकपा बनाउने र आफू शक्ति केन्द्रमा बस्ने तिर्खा उनमा पलायो। जुन नपाएका कारण अहिलेको राजनीतिक अवस्था आइपुगेको हो’, स्रोतले भन्यो।ओली केन्द्रविन्दुमा रहेको प्रचण्डलाई मन नपरेपछि उनी नेकपाको समीकरणीय र बहुमतीय खेलमा सक्रिय भएका थिए। सरकार गिराउनका निम्ति विभिन्न खेल हुँदा ओलीले भारतले सरकार ढाल्न लागेको बताउँदा प्रचण्डले भारतले नभई आफूले राजीनामा मागेको बताएका थिए। ओलीलाई सरकार चलाउनै नदिने र सिध्याउनेगरी १९ बुँदे आरोपपत्र ल्याएपछि त्यसलाई फिर्ता गर्न अनुरोध गर्दा पनि प्रचण्डले नमानेपछि प्रतिनिधि सभा विघटन भएको थियो।
‘राजनीतिक जीवन नै ध्वस्त बनाउनेगरी जुन प्रकारले आरोपपत्र आयो, त्यसको प्रभावीकरणका रुपमा अहिलेको अवस्थालाई बुझुनुपर्छ। ओलीले सुरु गरेका हुन् कि प्रचण्डको महत्वकांक्षा र स्वार्थले काम गरेको हो? दुनियाँले बुझेका छैनन् र?’
त्यसपछि सडकबाट पनि प्रचण्डले राज्यका विभिन्न अंगलाई धम्की दिने काम गरेका थिए। दल विभाजन भइसकेपछि एमालेभित्र विभाजनकारी काममा पनि प्रचण्ड सक्रिय रहेको बताइन्छ। एमालेको माधवकुमार नेपाल पक्षलाई साथमा लिएर ओलीलाई भित्तामा पुराउने सम्मको चेतावनी दिएका प्रचण्ड राजनीतिमा अस्थिरताको नेतृत्व गर्ने खलपात्र भएको कतिपयको बुझाई रहेको छ।
‘१० बर्ष त यो देशमा गृहयुद्ध चलाए, त्यसपछि शान्तिपूर्ण राजनीतिमा पनि गिरीजाप्रसाद कोइरालादेखि झलनाथ खनालसम्मलाई धोकाधडीमा राखे, उनी हुन्जेल स्थिर सरकार हुँदैन’, उच्च स्रोतले भन्यो,‘उनलाई अस्थिरताका लागि नै रोपिएको हो, त्यहि काममा व्यस्त हुनेछन्।’