धनगढी,l सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन्। प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीकाअनुसार आज बिहान ९ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने छन्।
मुख्यमन्त्री भट्टले संविधानको धारा १८८ बमोजिम विश्वासको मत लिन आइतबार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए। मुख्यमन्त्रीले प्रदेशसभामा पेश गरेको विश्वासको प्रस्तावको पक्ष, विपक्ष र तटस्थ बस्ने प्रदेशसभा सदस्यका लागि समेत छुट्टाछुट्टै मत खसाल्ने व्यवस्था गरिएको छ।
यस्तो छ अंकगणित
सुदूरपश्चिममा हाल नेकपा एमालेमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार छ। ५२ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित २५ जना, माओवादी केन्द्रका १३ जना, नेपाली कांग्रेसका १२ जना र जनता समाजवादी पार्टीका २ जना प्रदेशसभा सदस्य छन्। विश्वासको मतका लागि मुख्यमन्त्री भट्टलाई २७ मत चाहिन्छ।
नेता माधवकुमार नेपाल पक्षका सदस्यले फ्लोर क्रस गरी मुख्यमन्त्री भट्टका पक्षमा मतदान गरे विश्वास प्राप्त गर्नेछन् । कांग्रेसले अहिलेसम्म पक्ष–विपक्ष केमा मतदान गर्ने भन्नेबारे टुङ्गो लगाएको छैन । कांग्रेसले आज बिहान ७ बजे बैठक बसेर निर्णय गर्ने संसदीय दलका नेता डा. रणबहादुर रावलले जानकारी दिएका छन् । जसपाका दुवै सांसद महन्थ ठाकुर पक्षका हुन् ।