काठमाडौं– नेपाली कम्युनिस्ट राजनीतिमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफैं हस्तक्षेपमा उत्रिनका लागि बाध्य बनाउने मध्येका हाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि एक रहेको खुलेको छ।
एकीकरणपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेका बखत अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच चलिरहेको अन्तरविरोधमा खेलेर प्रचण्डले एमाले कब्जाको रणनीति लिएका थिए। तर उक्त रणनीतिले नेकपा विभाजनमा जाने र त्यसलाई जोगाउन पूर्वएमाले एक ढिक्का हुनुपर्ने सोचले ओली र नेपालबीच बालुवाटारमा विविध समयमा बैठक भएका थिए।
एमालेलाई एकधारमा बाँधेर एकता कायम राख्नुपर्ने सुझाव लिएर नेता नेपालको निवासमा एमालेका हालका महासचिव तथा तत्कालिन नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेल सक्रिय बनेका थिए। तर, बालुवाटारदेखि कोटेश्वरसम्म भएका ति सबै बैठकका विषयमा प्रचण्डले सूचना पाउने र त्यसलाई तोड्नका लागि राष्ट्रपति भण्डारीसम्म गुनासो गर्ने काम भएको खुलेको छ।
उच्च स्रोतका अनुसार प्रचण्ड शीतलनिवास पुगेर नेकपामा आफूलाई एक्ल्याउन खोजेको गुनासो गर्दै एकीकरणको मर्म त्यो नरहेको र अल्पमत बहुमतको कुरा नभएको बताउने गर्दथे। स्रोतले भन्यो,‘प्रचण्डले राष्ट्रपतिलाई भेटेर एमाले बहुमतमा छ भन्ने जान्दाजान्दै पार्टी एकीकरण गरेको तर यो कम्युनिस्ट पार्टी ठूलो बनाउने सपनामा आधारित रहेको बताउँथे। उनले नेता नेपालसँग मिलेर ओलीले एक्ल्याउन खोजेको त हैन भन्ने आशंका पनि राष्ट्रपतिलाई गरेका थिए।’
ओली र नेपालबीचको अन्तरविरोधमा प्रचण्डले खेलेर एमाले कब्जाको रणनीति लिएको महासचिव पोखरेलले खुलाएका छन्। उनले त प्रचण्डको रणनीति ‘हस्तिानपुर’ कब्जा गर्ने प्रकारको रहेको पनि खुलाइसकेका छन्।
नेकपामा ओली–नेपाल अन्तरविरोधका कथा चलिरहेका थिए। ओली मिर्गौला ट्रान्सप्लान्ट गर्ने बेलामा पनि नेपालसँगका सम्वाद सतहमा नआएका होइनन्। नेपालले त्यसबेला पनि दुई अध्यक्षको चोचोमोचोले मात्र पार्टी नचल्ने भनी कयन पटक अभिव्यक्ति दिएका थिए।
‘नेपाललाई जसरी पनि ओलीलाई महाधिवेशनमा हारको बदला लिनु थियो र उनले त्यो अभिव्यक्ति अन्तरवार्तामा पनि दिएका छन्’, स्रोतले भन्यो,‘१९ बुँदे आएपछि देखिएको तिखो विरोधका क्रममा नेपालले एउटा अन्तरवार्तामा नै भनेका थिए नि१ एकीकरणको पक्षमा थिएँ। प्रचण्डसँग मिलेर ओलीलाई ठेगान लगाउनका लागि नै एकीकरणको पक्षमा उभिएको थिएँ।’
एमाले जस्तो बलियो संगठन भएको पार्टीमा आफू हर्ताकर्ता भएर नेतृत्वमा आउने महत्वकांक्षा र लोभले नै प्रचण्डलाई तानेको स्रोतको दाबी छ। ‘ओली रहुन्जेल हो, त्यसपछि त मैं हुँ भन्ने अहम्ले प्रचण्डलाई तानेको थियो, उनी ठिक भएपछि अन्तरविरोधमा खेल्न सुरु गरे’, स्रोतले भन्यो।
त्यसो त एमाले एकातिर हुने र माओवादीलाई नेकपामा किनारामा लगाउने त्रसित मानसिकतामा रहेका प्रचण्डले पटक–पटक बालुवाटारमा ओलीसँग भेट्ने, खाना खानका लागि ईश्वर पोखरेलको घरसम्म पुग्ने नगरेका होइनन्। स्रोतले भन्यो,‘जब सचिवालयमा आफ्ना पक्षमा बहुमत जस्तो देखिने भयो, उनले १९ बुँदे आरोपपत्र ल्याए। त्यसलाई फिर्ता गर्न आग्रह गर्दै ओली खुमलटारसम्म पुगे। त्यो आरोपपत्र भनेको चरित्र हत्या मात्र होइन, राजनीतिक जीवनकै हत्या गरेको होइन । ’