काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अहिलेसम्म १ खर्ब २३ अर्ब १४ करोड रुपैयाँ बराबरको पुनकर्जा लगानी भइसकेको छ । कुल २ खर्ब १२ अर्ब मध्ये अब लगानी हुन बाँकि यस्तो कर्जा कबिर ८९ अर्ब देखिएको छ ।
महामारीलाई लक्षित गर्दे सरकारले पुर्नकर्जाको सिमा बढाएको थियो । राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा २०७७ चैत मसान्तमा ४८ हजार ८ सय ६० ऋणीहरुले उपयोग गरेको नेपाल राष्ट्र बैंक बताउँछ ।
यस्तो कर्जा राष्ट्र बैंकले गरेको मूल्यांकनका आधारमा मात्रै होइन, बैंकहरु स्वयंले गरेको मूल्यांकनका आधारमा पनि प्रवाह हुन्छ । पुनर्कर्जा कार्यविधिले राष्ट्र बैंकलाई पुनर्कर्जा कोषमा रहेको रकमको बढीमा ५ गुणासम्म कर्जा प्रवाह गर्न छुट दिएको छ । हाल पुनर्कर्जा कोषमा ४२ अर्ब ५० करोड रुपैयाँ छ ।
जसअनुसार राष्ट्र बैंकले २ खर्ब १२ अर्ब ५० करोड रुपैयाँ अर्थात पाँच गुणा बराबर रकम पुनर्कर्जाका रूपमा प्रवाह गर्न पाउँछ । यसको ७० प्रतिशत अर्थात १ खर्ब ४८ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाले एकमुष्ट रूपमा पाउँछन् ।
२० प्रतिशतअन्तर्गत ४२ अर्ब ५० करोड रुपैयाँ राष्ट्र बैंकले ग्राहक पुनर्कर्जा शीर्षकमा खर्च गर्छ । बाँकी २१ अर्ब २५ करोड रुपैयाँ लघुवित्त वित्तीय संस्थाले एकमुष्ट रूपमा पाउँछन् र आफ्ना ग्राहकलाई कर्जा प्रवाह गर्छन ।
बैंक तथा वित्तीय संस्थाले अपेक्षित रूपमा कर्जा प्रवाह नभएपछि राष्ट्र बैंकले कार्यविधि परिमार्जन गरी गभर्नरको निर्णयअनुसार पुनर्कर्जाको निर्णय गर्न सक्ने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार राष्ट्र बैंकले सीधै पुनर्कर्जा प्रवाह गरेको छ ।
पुनर्कर्जा सबैभन्दा धेरै प्राप्त गर्नेमा कोभिड–१९ बाट बढी प्रभावित होटल र पर्यटन क्षेत्र छन् । धेरै पुनर्कर्जा लिनेमध्ये दोस्रोमा उद्योग, तेस्रोमा निर्माण, चौथोमा स्वास्थ्य तथा औषधि र पाँचौंमा शिक्षा क्षेत्र रहेको राष्ट्र बैंकको आकडाले देखाउँछ ।
पुनर्कर्जा सुविधाका लागि कार्यविधिमा तोकिएका मापदण्ड पूरा गर्नुपर्छ । मापदण्ड पूरा गर्न कोभिडबाट अति र मध्यम स्तरको पीडित हुनैपर्छ । होटल र पर्यटन क्षेत्र बढी भएकै कारण ती क्षेत्रका ऋणीले धेरै कर्जा सुविधा पाएको हुन सक्ने राष्ट्र बैंकले जनाएको छ ।
कार्यविधिअनुसार ग्राहकले लघु घरेलु तथा साना उद्यम, विशेष र साधारण गरी तीन प्रकारका पुनर्कर्जा पप्त गर्न सक्छन् । यसअघि नै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीले पाउने कर्जालाई पुनकर्जा भनिन्छ ।