काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेताहरुसँग बालुवाटारमा भएको जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरुको बैठक सकिएको छ । करिब दुई घण्टा चलेको बैठक जसपालाई आठ मन्त्रालय तथा दुई राज्यमन्त्री दिने सहमति बनेको छ ।
वार्तामा सहभागी जसपा नेता लक्ष्मणलाल कर्णले सरकारमा जाने सहमति भएको बताए । ‘केपी शर्मा ओली नेतृत्वको सरकारले हाम्रा काम गरिदिएको छ । सुरुदेखि नै सरकारमा आउनुस् भन्नुभएको थियो, आजको छलफलमा हुन्छ भनेका छौँ,’ कर्णले भने ।
अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्णसहितका नेताहरू प्रधानमन्त्री ओलीलाई भेट्न बिहान १० बजे बालुवाटार पुगेका थिए । कर्णका अनुसार दुई बजेसम्म चलेको बैठकमा सरकारमा सहभागिता र मुद्दा टुंग्याउने विषयमा छलफल भएको थियो ।
ओलीले जसपालाई आठ मन्त्रालय र दुई राज्यमन्त्री दिने तयारी गरेको बुझिएको छ । बालुवाटार स्रोतका अनुसार एक दुई दिनमै सहभागी हुने विषयमा टुंगो लाग्ने छ ।