काठमाडौँ- जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर वरिष्ठ नेता राजेन्द्र महतोले सरकारमा सहभागीताबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलमा जुटेका छन् ।
सोमबार बिहानदेखि प्रधानमन्त्री ओली र जसपा अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतोबीच छलफल जारी छ । आफूहरुको अधिकांश माग वर्तमान सरकारले पूरा गरेको भन्दै ठाकुर पक्षले ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भएको छलफलमा सरकारमा सहभागी हुँदा पाउने भनिएका ८ मन्त्रालयका विषयमा छलफल भइरहेको जसपाका एक नेताले जानकारी दिए ।
छफलमा दुवै पक्षका शीर्ष नेताहरु सहभागी रहेका छन । नागरिकता अध्यादेश,मधेश आन्दोलनमा लागेका मुद्दा फिर्ता र संविधान संशोधन कार्यदल गठन भएपछि महन्थ ठाकुर पक्षले मधेशका माग एमालेले पूरा गरेको भन्दै सत्तामा सहकार्य हुने बताएको छ ।
कार्यकारिणी समितिमा उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षलाई बहुमतमा पुग्न नदिने रणनीतिका साथ ठाकुर पक्ष सत्तामा सहभागी हुनबाट केही दिन रोकिएको बताइएको छ । आइतवारसम्म कार्यकारिणी समितिमा पनि ठाकुर बहुमतमा पुगेपछि अब सरकारमा सहभागी हुने तयारी भएको ठाकुर निकट नेताहरुको दावी छ । विघटित प्रतिनिधिसभाका ३२ सांसदमध्ये ठाकुरको पक्षमा २० जना उभिएका छन् । यादव भट्टराईको पक्षमा केवल १२ सांसद मात्रै रहेका छन ।