शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

यहि साता जसपा ठाकुर समूह ओली सरकारमा सहभागी हुने निश्चित 

बिहिबार, जेष्ठ १३ २०७८

काठमाडौं । यसै साताभित्र जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूह प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निश्चित भएको छ । 
खाली रहेका ७ मन्त्रालय उसले पाउनेछ। अन्य केहीमा पनि दाबी रहेको बताइएको छ। प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठनका क्रममा मन्त्रालय हेरफेर र संख्या थपघट गरी जसपालाई सरकारमा सामेल गराउन लागेका हुन् । 
‘अहिले मन्त्रालयका विषयमा कुराकानी भइरहेको छ। यहि हप्ता कुरो टुंगाएर हामी सरकारमा सहभागी हुन्छौं’, ठाकुर समूहका एक नेताले भने,‘अहिले कुन कुन मन्त्रालय पाउने र को–को सरकारमा सहभागी हुने भन्ने विषयमा नै परामर्श जारी रहेको छ ।’
एक उपप्रधान र गृह मन्त्रालय पाएको खण्डमा अध्यक्ष महन्थ ठाकुरकै नेतृत्वमा जसपा सरकारमा सहभागी हुने तयारी छ। तथापी यस विषयमा टुंगो लागी नसकेको बताइन्छ। ठाकुर सरकारमा सहभागी नभएको खण्डमा नेता राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा जाने निश्चित भएको हो । 
जसपाभित्र आन्तरिक विवाद र विरोध चलिरहेका कारण त्यसलाई पनि यसै साताभित्र निरुपण गरिने बताइन्छ। उपेन्द्र यादव समूहलाई ठाकुर पक्षले स्पष्टिकरण सोधेको थियो भने यादव समूहले पनि सोधेको छ । 
तथावी ठाकुर समूह अहिले बलियो देखिएको छ। विघटित प्रतिनिधि सभामा झन्डै २२ जना सदस्य ठाकुर समूहमा रहेका छन्। यद्यपि, सरकारविरुद्ध सर्वोच्चमा रिट हाल्नेमा यादव समूहका १२ जना रहेको दाबी गरिएको छ ।
‘हामी सकभर पार्टीमा विभाजन नआओस् भनेर मिलाउने र वार्ता गर्ने रणनीतिमा छौं। तर उपेन्द्र यादव समूह नसच्चिएको खण्डमा कारबाही गरी जसपा सरकारमा सहभागी हुनेछ’, एक नेताले भने,‘तर जे हुन्छ यहि साताभित्र हुनेछ ।’