काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरोधी प्रत्यक्षतर्फका माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल र बाँकी ९ जना समानुपातिक गरी ११ जना सांसदहरुलाई स्पष्टीकरण सोध्ने भएका छन्।
नेपाल पक्षका प्रभावशाली नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाललाई भने स्पष्टीकरण सोधिएको छैन । उनीहरुले पार्टी एकता प्रयासलाई मर्न नदिएको दाबी गर्दै आएका थिए।
शनिबार बालुवाटारमा बसेको ओली पक्षीय पार्टीको स्थायी कमिटी बैठकले ११ जना सांसदहरुलाई स्पष्टीकरण सोध्ने र उनीहरुको जबाफ अनुसार थप कारवाही प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
एमालेका खासगरी नेपाल पक्षका २७ जना सांसदले शुक्रबार विपक्षी नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री स्वीकार गर्दै नयाँ सरकार निर्माणको दाबीका क्रममा हस्ताक्षर गरेका थिए।
ती मध्ये ११ जना सांसदलाई मात्रै ओलीले स्पष्टीकरण सोध्ने भएका हुन्। उनीहरुले सोमबार बिहानसम्म स्पष्टीकरणको जबाफ ओलीसमक्ष पेश गर्नु पर्नेछ।
लिखित स्पष्टीकरण सोधिएका विघटित संसदका सांसद
१)झलनाथ खनाल
२) माधवकुमार नेपाल
३) भीमवहादुर रावल
४) मुकुन्द न्यौपाने
५) रामकुमारी झाँक्री
६) सरला यादव
७) पुष्पाकुमारी कर्ण
८)कलिला खान
९) निरादेवी जैरु
१०) लक्ष्मी कुमारी चौधरी
११)कल्याणी खड्का