काठमाण्डौ l चीन सरकारले एक करोड युआनबराबरका स्वास्थ्य सामग्री अनुदानमा दिने घोषणा गरेअनुसार अहिलेसम्म दुई हजार अक्सिजन सिलिन्डर आइसकेको छ । बाँकी धमाधम नेपाल आउने क्रममा छन् ।
सुरुमा ५० लाख युआनबराबरका ३५ सय अक्सिजन सिलिन्डरमध्ये हालसम्म दुई हजार अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर आइसकेको छ । बाँकी १५ सय अक्सिजन सिलिन्डर रसुवागढी नाकाबाट चाँडै आउने भएको छ । चीनबाट थप एक करोड युआनबराबरका स्वास्थ्य सामग्री सहायतामा अर्को महिनासम्म चरणबद्ध रूपमा आउने भएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार चीनले थप ५० लाख युआनबराबरका स्वास्थ्य सामग्री दिने घोषणाअनुसार ४० वटा पोर्टेबल भेन्टिलेटर, २० वटा अटोमेटेड एनालाइजर, १० वटा डिआर मेसिन, २० वटा पोर्टेबल अल्ट्रासाउन्ड, ३० वटा एनेस्थेसिया मेसिन अर्को साता तातोपानी नाकामा आइपुग्नेछ । त्यहाँ चिनियाँ अधिकारीहरूले नेपाली अधिकारीहरूलाई हस्तान्तरण गर्नेछन् ।
परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार चीन सरकारले थप ५० लाख युआनबराबरको स्वास्थ्य सामग्री पठाउने घोषणा गरेको छ । यसमा ६५० अक्सिजन कन्सन्ट्रेटर, २० हजार वटा नाकमा अक्सिजन राख्ने यन्त्र तथा २० हजार थान अक्सिजन फेस मास्क छन् । यी सामग्री असार पहिलो साता नेपाल आइपुग्नेछन् ।
चीनको तिब्बत स्वशासित क्षेत्र सरकारले कोभिडको नियन्त्रण तथा उपचारका लागि नेपाललाई ३० हजार लिटर तरल अक्सिजनसहितका स्वास्थ्य सामग्री सहयोग घोषणा गरेको छ । तिब्बत जनसरकारका प्रतिनिधिले बिहीबार ल्हासास्थित नेपाली महावाणिज्यदूत नवराज ढकाललाई सामग्री हस्तान्तरण गरेका हुन् ।
महावाणिज्यदूत ढकालका अनुसार ल्हासाबाट पहिलो चरणको सामग्री नेपालतर्फ प्रस्थान गरिसकेको छ भने शनिबार तानोपानीस्थित नेपाली सीमामा आइपुग्दै छ । चिनियाँ राजदूत होउ यान्छीका अनुसार तिब्बतले तरल अक्सिजनका साथै भरिएको आठ सय अक्सिजन सिलन्डिर, १० वटा अक्सिजन कन्सन्ट्रेटर, पाँचवटा भेन्टिलेटर सहयोग गर्दै छ । यसैगरी, दुई सय आइसियू बेड र १५ हजार एन्टिजेन किट्स पनि तिब्बतले पठाउने भएको छ । ल्हासास्थित नेपाली महावाणिज्यदूत ढकालका अनुसार पहिलो चरणमा १५० वटा लिक्विड अक्सिजन सिलिन्डर बोकेका गाडी ल्हासाबाट बिहीबारै खासातर्फ हिँडेको छ । यसबाट ४० केजी क्षमताका ६ हजार सिलन्डिर भर्न सकिने ढकालले जानकारी दिए ।
तिब्बत सरकारले स्थलमार्गबाट नेपाल जाने कोभिडको नियन्त्रणसँग सम्बन्धित कार्गो विनारोकावट नेपाल पठाउन सहयोग गर्ने वचन दिएको छ । ‘महावाणिज्य दूतावास कार्गो आवतजावतको निरन्तर अनुगमन गरिरहेको छ र तिब्बत सरकारका सम्बन्धित अधिकारीहरूसँग सघन सम्पर्कमा छ,’ ढकालले भनेका छन् । चीनको सान सिको एक कम्पनीले ३० वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । सिल्क ट्रान्सपोर्टले निःशुल्क रूपमा ल्हासाबाट शुक्रबार काठमाडौं ल्याउने पनि ढकालले जानकारी दिएका छन् ।
तिब्बतकै गुडविल फाउन्डेसनले आगामी साता ५० वटा अक्सिजन कन्सन्ट्रेटर दिने तयारी गरेको छ । महावाणिज्यदूत ढकालका अनुसार निजी क्षेत्रबाट कोभिड नियन्त्रणसँग सम्बन्धित सामग्री बोकेका २२ वटा गाडी तातोपानी भन्सार पुग्ने क्रममा छन् । अक्सिजन सिलिन्डर, कन्सन्ट्रेटर बोकेका १५ गाडी सामान खासा पुगेका छन् । एभरेस्ट ग्यासका चार हजार पाँच सय खाली सिलिन्डर अक्सिजन भर्न यही साता तिब्बत पुग्दै छन् । नेपाललाई चीनबाट पहिलोपटक तरल अक्सिजन सहायतामा आएको हो ।
यसअघि, मंगलबार सिचुआन प्रान्त सरकारले ३० लाख चिनियाँ युआनबराबरका स्वास्थ्य सामग्री ल्याइपु¥याएको छ । यसमा तीन लाख सर्जिकल मास्क, एक लाख ६२ हजार ८८० एन ९५ मास्क, ११ सय मेडिकल प्रोटेक्टिभ कपडा, पाँच सय इयर थर्मोमिटर तथा ५० वटा ननकन्ट्याक्ट इन्फ्रेर्ड थर्मोमिटर छन् । चीनको रेडक्रस सोसाइटीले नेपाल रेडक्रम सोसाइटीलाई ९० वटा अक्सिजन कन्सन्ट्रेटर, दुई सयवटा कभरल तथा सात लाख सर्जिकल मास्क शुक्रबार हस्तान्तरण गर्दै छ । चीनका अन्य निजी संस्थाहरूले पनि स्वास्थ्य उपकरण, अक्सिजन कन्सन्ट्रेटरलगायतका सामान पठाएका छन् । नयाँ पत्रिकामा खबर छ l