शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

राष्ट्र बैंकद्धारा कोभिड १९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्वन्धी प्रतिवेदन सार्वजनिक 

बुधबार, जेष्ठ ५ २०७८

काठमाडौं । बिश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) ले नेपालको अर्थतन्त्रमा पारेको प्रभाव सम्वन्धी प्रतिवेदन सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले जेठ पाँच गते अर्थात आज बुुधबार उक्त प्रतिवेदन सार्वजनिक गरेको हो । 
प्रतिवेदनमा भनिएको छ, कोभिड महामारी पूर्व २०७६ फागुनको तुलनामा २०७७ असारमा चार दसमलव एक प्रतिशत मात्र उद्योग, व्यवसायहरु पूर्ण रुपमा सञ्चालनमा रहेकोमा २०७८ बैशाखमा बढेर ८१ दसमलव दुुई प्रतिशत पुगेको देखिएको छ । सर्वेक्षणमा सहभागी विद्युत्, ग्याँस तथा पानी र सञ्चार क्षेत्रका शत प्रतिशत उद्योग, व्यवसायहरु पूर्ण रुपमा सञ्चालनमा रहेको देखिएको छ । हालसम्म पनि चार दसमलव दुई प्रतिशत उद्योग, व्यवसायहरु सञ्चालनमा आउन नसकेकोे राष्ट्र बैंकले जनाएको छ । 

कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा औसतमा करिब २९ प्रतिशतमात्र उत्पादन, कारोबार रहेकोमा २०७८ बैशाखमा आइपुग्दा यस्तो उत्पादन बढेर औसतमा ६१ दसमलव चार प्रतिशत पुगेको छ । गत असारको तुलनामा अध्ययनले समेटेका सबै क्षेत्रहरुको उत्पादन, कारोबार बढेको पाइएको छ । तर, होटल तथा रेष्टुरेन्ट भने उत्पादन तथा कारोवारको स्थिति ४० दसमलवव आठ प्रतिशत मात्र पुगेको छ जुन अन्य व्यवसायहरु भन्दा सवैभन्दा कम हो, प्रतिवेदनमा भनिएको छ ।  

 
गत २०७७ असारको तुलनामा उद्योग, व्यवसायहरुले प्रदान गर्ने रोजगारीमा सुधार भएको देखिएता पनि कोभिड महामारी अगाडिको अवस्थामा भने अझै पुग्न सकेको छैन ।कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा ७७ दसमलव चार प्रतिशत रोजगारी प्रदान गरेका उद्योग, व्यवसायहरुले २०७८ बैशाखमा ९३ दसमलव आठ प्रतिशत रोजगारी प्रदान गरेको पाइएको छ । मझौला तथा ठूला उद्योग, व्यवसायहरुले प्रदान गरेको रोजगारी दर भने असारको तुलनामा घटेको देखिएको छ । पूर्ण रुपमा सञ्चालनमा रहेपनि मझौला तथा ठूला उद्योग, व्यवसायहरु आफ्नो पूर्ण क्षमता उपयोग गरी सञ्चालनमा नरहेकोकारण यस्ता उद्योगले प्रदान गर्ने रोजगारीको दरमा थप कटौती हुन गएको अनुमान गरिएको प्रतिवेदनमा उल्लेख छ । 

गत २०७७ असारको तुलनामा उद्योग, व्यवसायहरुको औसत तलब—ज्याला खर्चमा वृद्धि भएको पाइएको छ । कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा ६३ दसमलव प्रतिशत रहेको यस्तो खर्च २०७८ बैशाखमा आइपुग्दा ८८ दसमलव पाँच प्रतिशत पुगेको देखिएको छ । २०७७ असारको तुलनामा खानी तथा उत्खनन क्षेत्रका उद्योग, व्यवसायहरुको औसत तलब ज्याला खर्च बढेको पाइएको छ भने विद्युत्, ग्याँस तथा पानी र सञ्चार क्षेत्रका उद्योग, व्यवसायहरुको औसत तलब—ज्याला खर्च कोभिड महामारी अगाडिकै अवस्थामा छ ।