काठमाडौं । विभाजनको डिलमा पुगेको जनता समाजवादी पार्टी ८ बुँदे सहमतिसँगै लयमा फर्किएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने क्रममा उक्त पार्टी विभाजनको अवस्थामा पुगेको थियो ।
अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो पक्ष र उपेन्द्र यादव तथा डा. बाबुराम भट्टराई पक्षबीच विवाद थियो। यहि विवादका बीच ठाकुर पक्षले महतोलाई संसदीय दलको नेता चयन गरेपछि विवाद अझ बलियो गरी गाडिएको थियो ।
तर ८ बुँदे सहमतिसँगै जेठ ८ र ९ गते केन्द्रीय कार्यकारिणी बैठक डाकिएको छ। एक महिनाभित्र प्रधानमन्त्री ओलीले फेरि विश्वासको मत लिनुपर्ने अवस्थामा जसपाले तटस्थ बस्ने निर्णय सोही बैठकबाट लिने बताइएको छ ।
‘अब जसपाको माग ओली सरकारले नै पूरा गर्छ भन्ने विषयमा उपेन्द्र यादव सहमतिमा आएका छन्। यसअघि विश्वासको मत दिने बेला सांसदलाई स्वतन्त्र छाडिएको भन्ने पनि सहमतिमा उल्लेख छ’, स्रोतले भन्यो,‘अबचाहिँ जसपा पूरै तटस्थ बस्नेछ ।’
ठाकुर र यादवबीचको सहमतिले राजनीतिमा नयाँ तरङ्ग ल्याएको कतिपयको ठम्याई छ। ओलीलाई असफल बनाउने माओवादी केन्द्रको रणनीतिलाई असफल बनाउनका लागि जसपा एकमत हुन लागेको हो ।
सर्वोच्च अदालतले लुम्बिनी प्रदेशमा मन्त्री बनिसकेका चार जना सांसदलाई कारबाही नगर्नू भनी आदेश दिएपछि यादव समूह दबाबमा परेको थियो। त्यहाँ पनि मुख्यमन्त्री शंकर पोखरेलको सरकार जोगिने भएको छ ।
‘सबैतिरबाट अप्ठेरोमा परेपछि उपेन्द्रले आत्मसमर्पण गरेका छन्। अब जसपाको निर्णय केन्द्रीय कार्यकारिणीको बैठकले एक मतले गर्नेछ’, स्रोतले भन्यो ।