आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

महन्थ–उपेन्द्रबीच बाझाबाझ, फुट्ने भयो जसपा

मंगलबार, जेष्ठ ४ २०७८

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) फुट्ने तरखरतिर लम्किएको छ। पार्टीको आन्तरिक विवाद मिलाउनका लागि अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवबीच भएको वार्ता असफल भएको स्रोतले बताएको छ । 
समझदारीका लागि बसेका दुई नेताबीच एक आपसमा आरोप प्रत्यारोप भएको थियो। केन्द्रीय कार्यकारिणी बैठक मनपरी हिसाबले बोलाउने प्रस्ताव र नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको विषयमा जसपाभित्र विवाद बल्झिएको थियो । 
यो विवाद समाधानको नाममा महन्थ र उपेन्द्र वार्तामा थिए। तर केन्द्रीय राजनीतिमा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षतिर मत विभाजन भएका दुई नेता सहमतिको विन्दु पहिल्याउन असफल भएका छन्। बरु बाझाबाझको अवस्थामा पुगेको छ । 
डा. बाबुराम भट्टराईले बालुवाटारमा पुगी कसैलाई समेत सुइँको नदिई प्रधानमन्त्री पद माग गरेको बारेमा महन्थ पक्षले उपेन्द्रलाई प्रश्न गरेका थिए। ‘हामी सरकारका लागि हतारिएका छैनौं, मधेसको माग पूरा गर्ने विषयमा हामी अडिग छौं। तर तपाईहरुलाई सत्ता नभई किन नपचेको?’, उच्च स्रोतले महन्थलाई उदृत गर्दै भन्यो,‘प्रधानमन्त्री चाहिने त्यो पनि नभए सत्तामा जानका लागि जे पनि गरिदिने ?’
वार्ताका क्रममा तीन बर्ष अघि पनि राजपा रहँदा आफूहरु सत्तामा नगएको तर दुई बुँदे सहमतिका नाममा सरकारमा उपेन्द्र गएको चर्चा उठाइएको थियो । ‘त्यसबेला सहमति नगरी तपाई सरकारमा गएको होइन? के भयो उपलब्धी? अहिले तपाईले जे भन्यो त्यहि मान्न तयार हुनुपर्ने?’, महन्थ पक्षका नेताको प्रश्न थियो।
जसपाको विवाद समाधान नहुने भएपछि लगभग पार्टी विभाजनकै लागि तयारी अवस्थामा रहन केन्द्रीय सदस्य र सांसदलाई भनिएको छ। विभाजनको बिउ लुम्बिनी प्रदेशका सांसद कारबाहीको विषयसँगै रोपिएको महन्थ पक्षको बुझाई छ ।