आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

एमालेलाई बधाई दिँदै नारायणकाजीले लेखे यस्तो फेसबुकमा !

शुक्रबार, बैशाख ३१ २०७८

काठमाडौं – नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा एमालेलाई बधाई तथा शुभकामना दिँदै कम्युनिस्ट क्रान्तिकारीहरू एकजुट हुनुपर्ने मत राखेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउने प्रयास असफल भएपछि प्रवक्ता श्रेष्ठले अरुको विरोधमा समय खेर फाल्न नहुने जनाएका छन् ।

श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘नेकपा एमालेका कमरेडहरूलाई बधाई तथा शुभकामना ! हाम्रो पार्टी र अन्य कम्युनिस्ट क्रान्तिकारीहरू, मुख्यतः हाम्रो पार्टी नेकपा माओवादी केन्द्रले अब प्रतिक्रियात्मक भएर अरुको विरोधमा समय खेर फाल्नु हुँदैन । देशभक्ति, क्रान्तिनिष्ठता, सिद्धान्तनिष्ठता र जनसेवालाई आत्मसात गर्दै व्यवस्थित रूपमा वैचारिक, सांस्कृतिक रुपान्तरण र संगठनात्मक सुदृढीकरणको अभियान सञ्चालन गर्नुपर्छ । वैचारिक छिपछिपेपन, विधिपद्धतिको अवज्ञा, व्यक्तिवाद, संकीर्णता, अनेकता, गुटबन्दी, भ्रष्टीकरणबाट माथि उठ्नुपर्छ र त्यसको विरुद्ध संघर्ष गर्न दृढ हुनुपर्छ । त्यसरी मात्र हामी क्रान्तिकारी पार्टी निर्माण र समाजवादको यात्रामा सफलताउन्मुख हुँदै अघि बढ्न सक्नेछौं । विचलन, निराशा र निष्कृयता क्रान्तिकारी गुणचरित्र होइन । घिसिपिटेपन र तदर्थवादबाट फड्को नमारिकन पनि आजको आवश्यकता पूरा गर्न सकिने छैन । तत्कालै भने सिंगो पार्टीपंक्ति कोरोना महामारीसँग जुझ्न स्वयंसेवामा जुटौं ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार बनाउन दिएको समयसीमाभित्र प्रधानमन्त्रीका लागि बहुमत जुटाउन नसकेपछि माओवादीको प्रयास असफल भएको थियो ।