शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

साना लगानीकर्ताले बेचेको शेयरको पैसा तत्कालै दिनूः धितोपत्र बोर्ड

बिहिबार, बैशाख ३० २०७८

काठमाडौं । नेपाल धितोपत्र बोर्डले साना लगानीकर्ताले बेचेको शेयरको रकम तत्कालै दिन सम्बन्धित ब्रोकरलाई आग्रह गरेको छ । बोर्डले बिहीबार एक सूचना जारी गर्दै ससाना लगानीकताहरुलाई दैनिक घर खर्च वा औषधी उपचारको लागि शेयर बेचेको अवस्थामा लगानीकर्ताको अनुरोधमा सम्बन्धित ब्रोकरले सम्भव भएसम्म आवश्यकता अनुसारको रकम तत्काल उपलब्ध गराई सहयोग गर्न आग्रह गरेको हो । 

त्यस्तै, बोर्डले इजाजत पत्र पाएका धितोपत्र दलाल (ब्रोकर), मर्चेण्ट बैंकर र सम्बद्ध सबै पक्षहरुलाई कार्यालयमा ३ जना भन्दा बढी कर्मचारी नखटाउन आग्रह गरेको छ । अनलाइन मार्फत सम्पूर्ण धितोपत्र कारोबार गर्न सकिने भएकोले सिष्टम सञ्चालन गर्न बाहेका सबैलाई वर्क फ्रम होमको व्यवस्था मिलाउन सम्बन्धित पक्षहरुलाई बोर्डले अनुरोध गरेको हो ।

बोर्डले जारी गरेको सूचना अनुसार जति सक्दो संक्रमणको पहिचान हुन्छ, त्यति चाडो उपचारमा सहज हुने हुँदा कर्मचारीहरुमा कोरोनाको लक्षण देखिएमा तत्काल आईसोलेट हुने व्यवस्था गरी परीक्षण गराउन आग्रह गरेको छ । 

नेपाल सरकार र जिल्ला प्रशासन कार्यालयबाट जारी गरेका आदेश अनुसारका थप स्वास्थ्य सुरक्षा मापदण्डहरु तथा व्यवस्थाहरु पूर्ण रुपमा पालना गर्न पनि सूचनामा भनिएको छ । साथै, गुनासा तथा समस्या समाधानको लागि प्रयोग भइरहेको कार्यालयको फोनलाई कल डाइभर्ट गरी घरैबाट त्यस्तो सुविधा उपलब्ध गराउने र थप मोबाइल नम्बरहरु उपलब्ध गराउनु पर्ने छ ।