काठमाडौं । विकल्पको सरकार बनाउनका लागि आवश्यक सांसदको राजीनामा गराउन एमाले नेता माधवकुमार नेपाल राजी भएको विवरण सतहमा आएका बेला जसपा अध्यक्ष महन्थ ठाकुरको पक्षमा २२ सांसद पुगेको बताइएको छ ।
जसपाभित्रको विवादमा ठाकुर हावी भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि नेपालले आवश्यक सांसदको सशर्त राजीनामा गराउने भएको बताइन्छ।
६ महिनाभित्र हुने उपनिर्वाचनमा राजीनामा गर्ने सांसदलाई कांग्रेस, जसपा उपेन्द्र यादव समूह र माओवादीले जिताउने ग्यारेन्टीसहित राजीनामा गराउने पक्षमा नेता नेपाल रहेका छन्। यसो गरे देउवा प्रधानमन्त्री बन्ने बाटो खुल्ने बताइन्छ ।
यदि नेपाल समूहले राजीनामा नगरे ठाकुर अधिक निर्णायक शक्तिका रुपमा उदय भइसकेका छन्। तटस्थ बस्ने निर्णय गरेका उनीसँग २२ सांसद रहेको र उपेन्द्र यादव समूहलाई अधिक अल्पमतमा पार्ने रणनीति बनिसकेको छ ।
जसपाका २२ सांसद तटस्थ बसे देउवाले कायम रहेको संख्यामा बहुमत पुराउन सक्ने छैनन्। ठाकुरले जसपाका अन्य नेतालाई पनि तटस्थ बस्नका लागि राजी गराउने अभ्यास थालेका छन् ।
यसैकारण पनि पदाधिकारी बैठकको तयारी भएको छ। पदाधिकारी बैठकअघि संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष महन्थ ठाकुरको बैठक तय भएको बताइन्छ ।
भट्टराईले संयुक्त सरकारको प्रस्ताव गरेका कारण उनी ठाकुरको लाइनमा उत्रिन सक्ने बताइन्छ। मधेसका मुद्दा अहिलेको सरकारले सम्बोधन सुरु गरेको भनी ठाकुर, नेता राजेन्द्र महतोलगायत विकल्पको सरकारमा जान तयार छैनन् भने उपेन्द्र यादव जसरी पनि सरकारको विकल्पको गठजोडमा जान खोजीरहेका छन् ।
यसैबीच सरकारको विकल्प भन्दा पनि मधेसको एजेन्डा मुख्य हुनुपर्ने आवाज बुलन्द हुन थालेको छ। जसपाका सांसदहरु नेता यादवको चरित्रमाथि नै प्रश्न गर्दै उत्रिन थालेका छन् ।
सत्तामा जानका लागि यादवले जस्तोसुकै पनि सम्झौता गर्ने, पुगिसकेपछि मधेसका माग विर्सने गरेको आरोप लाग्न थालेको छ। विदेश भ्रमण र कमाउनका लागि मात्र उपेन्द्रले सत्ताको दुरुपयोग गरेको बताइन्छ ।