काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको बर्तमान आर्थिक तथा बित्तीय स्थिती सम्वन्धी नौ महिनाको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार चालु आर्थिक बर्षको नौ महिनामा कुल वस्तु निर्यात २० दसमलव दुुई प्रतिशतले बढेर ९४ अर्ब ७७ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२ दसमलव नौ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः २३ दसमलव पाँच प्रतिशत र १४ दसमलव पाँच प्रतिशतले निर्यात बढेको छ भने चीनतर्पmको निर्यातमा २७ दमसलव तीन प्रतिशतले घटेको छ । वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), पश्मिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकर लगायतका वस्तुको निर्यात घटेको छ ।
राष्ट्र बैंकका अनुसार चालु आवको नौ महिनामा कुल वस्तु आयात १३ दसमलव एक प्रतिशतले बढेर ११ खर्ब ११ अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात सात दसमलव पाँच प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा चीनबाट भएको आयात क्रमशः २० दसमलव तीन प्रतिशत र सात दसमलव सात प्रतिशतले वृद्धि भएको छ भने अन्य मुलुकबाट भएको आयातमा दुई दसमलव तीन प्रतिशतले कमी आएकोे छ । वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, चामल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, भिडियो, टेलिभिजन तथा पार्टपूजा, चाँदी लगायतका वस्तुको आयात घटेको छ ।
निर्याततर्फ सुख्खा बन्दरगाह, कैलाली, तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, जलेश्वर, तातोपानी र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा वृद्धि भएको छ । यसैगरी चालु आवको नौ महिनाामा महिनामा कुल वस्तु व्यापार घाटा १२ दसमलव पाँच प्रतिशतले वृद्धि भई १० खर्ब १६ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा आठ दसमलव नौ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात आठ दसमलव पाँच प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात आठ प्रतिशत रहेको थियो । चालुु आर्थिक बर्षको पछिल्लो नौ महिनामा विप्रेषण आप्रवाह १६ दसमलव पाँच प्रतिशतले वृद्धि भई सात खर्ब २९ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह चार दसमलव दुुई प्रतिशतले घटेकोे थियो ।