काठमाडौं । नयाँ सरकार गठन प्रक्रिया सुरु भइरहँदा विभिन्न दलीय समीकरणका सम्भावनाहरु देखिएका छन् ।
विपक्षी गठबन्धनले सरकार गठनका लागि दलीय सहमति खोजिरहँदा बहुमत पुुग्ने सम्भावना क्षिण हुँदै गएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले नै संविधानको धारा ७६(२)अनुसार नयाँ सरकार बनाउने सम्भावना देखिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख ३० गते बिहीबार राति ९ बजेसम्ममा धारा ७६(२)अनुसार सरकार बनाउन दाबी पेस गर्न दलहरुलाई आह्वान गरेकी छन् । तर, अब ३१ घण्टा बाँकी रहँदा विपक्षी गठबन्धनमा सरकार बनाउन चाहिने बहुमत पुु¥याउन सकेका छैनन् ।
कांग्रेसको ६१ र माओवादी केन्द्रको ४९ गरी ११० मत रहेको छ । अहिले २७१ सदस्यीय प्रतिनिधि सभा रहेकाले बहुमतको सरकार बनाउन १३६ मत चाहिन्छ ।
विपक्षी गठबन्धनलाई बहुुमतको सरकार बनाउन २६मत अपुग हुने देखिन्छ । जनता समाजवादी पार्टी नेपालको उपेन्द्र यादव समूहले विपक्षी गठबन्धनलाई सघाउने बताए पनि कानुन झन्झट देखिएको छ ।
जसपाको प्रथम अध्यक्ष महन्थ ठाकुर हुन् भने जेष्ठ सदस्यको हैसियतमा महन्थलाई नै संसदीय दलको नेताको रुपमा स्वीकारिएको छ । सोही आधारमा पत्राचारमा महन्थकै हस्ताक्षर चल्दै आएको जसपाका नेताहरुले जानकारी दिएका छन् ।
यसर्थ ३२ सांसद रहेको जसपाको समर्थन महन्थले जता गरे त्यतै हुने देखिन्छ । महन्थले विपक्षी गठबन्धनमा आफ्नो समर्थन नरहने बताइसकेका छन् ।
कांग्रेस नेतृत्वमा बहुमतको सरकार अहिले भन्ने सम्भावना क्षिण हुँदै गएको र यसबारे देउवा पनि जानकारी रहेका छन् । मंगलबार पार्टी पदाधिकारीको बैठकमा यसबारे देउवाले भनिसकेका छन् ।
यता विपक्षी गठबन्धनले धारा ७६(२)अनुसार सरकार बनाउन नसकेमा पुन एमाले अध्यक्ष ओलीले सोही धाराअनुसार सरकार बनाउने सम्भावना देखिएको छ ।
ओलीलाई महन्थले सहयोग गर्ने सम्भावनसँगै ओलीले बहुमतको सरकार बनाउने तयारी थालेको बताइएको छ । १२१ सांसद रहेको एमाले र ३२ सांसद रहेको जसपा मिलेर बहुमतको सरकार बनाउने सम्भावना रहेको देखिएको हो ।
एमालेको नेपाल समूह र जसपाको उपेन्द्र समूहले पार्टी विभाजन गरेमा पनि समय लाग्ने भएकाले ओली र महन्थले आफूहरु मिलेर बहुमतको सरकार बनाउन तयार भएको राष्ट्रपतिलाई पत्र लेखेमा उनीहरुले बहुमतको सरकार बनाउने सम्भावना देखिएको हो ।
राष्ट्रपतिलाई पार्टी अध्यक्षको हस्ताक्षर आवश्यक पर्ने भएकाले सांसद अहिले को कता भन्नेले अर्थ नराख्ने भएकाले नेपाल समूह र उपेन्द्र समूहको असहमतिले ओली र महन्थलाई बहुमतको सरकार बनाउन कुनै असर नगर्ने नेताहरुको भनाइ छ । यसरी बनेको सरकारले एक महिनापछि विश्वासको मत लिनुपर्ने हुन्छ ।