काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा गत वर्ष भन्दा यस वर्ष अजोड इन्स्योरेन्स लिमिटेडले ७४ प्रतिशत बढी खुद नाफा गरेको छ । गत वर्ष रू. ३ करोड ५१ लाख खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. ६ करोड ११ लाख यो नाफा गरेको हो ।
कम्पनीको कुल आम्दानी यस वर्ष गत वर्षभन्दा ६३ प्रतिशत बढी र कुल खर्च ५१ दशमलव ६६ प्रतिशत बढी भएको छ । यो तेस्रो त्रैमाससम्म कम्पनीले रू. ११ करोड १३ लाख कुल आम्दानी गर्दा रू. ५ करोड २ लाख कुल खर्च गरेको हो ।
यसै वर्ष सर्वसाधारणमा रू. ३० करोड बराबरको आईपीओ जारी गरी चुक्तापूँजी रू. १ अर्ब पुर्याएको कम्पनीको जगेडा कोष रकम १२६ दशमलव ७३ प्रतिशत बढी रू. ७ करोड ५५ लाख कायम भएको छ । कम्पनीको बीमाकोष रकम पनि ९३ प्रतिशत बढेर रू. ९ करोड २९ लाख कायम भएको छ ।
कम्पनीले ६८ दशमलव ९० प्रतिशत बढी यो वर्ष रू. १ अर्ब २ करोड ४१ लाख कुल बीमाशुल्क आर्जन गरेकोमा २०१ प्रतिशत बढी रू. ५० करोड २९ लाख कुल दाबी भुक्तानी गरेको छ । गत वर्ष १ हजार ५६८ जनामा कुल दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष ३ हजार ३५० जनामा दाबी भुक्तानी गरेको हो ।
गत वर्ष ७० हजार ४०० बीमालेख जारी गरेको कम्पनीले यस वर्ष १ लाख ५ हजार ९० बीमालेख जारी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ८ दशमलव १५ र प्रतिशेयर नेटवर्थ रू. ११७ दशमलव ६८ रहेको छ ।