प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार (२७ वैशाख)मा संसद्को विशेष अधिवेशन बोलाइएपछि कांग्रेस सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा राजनीतिक भेटवार्ता बाक्लिएका छन् । तीन दिनमा देउवानिवासमा तीन महत्वपूर्ण राजनीतिक भेटवार्ता भएका छन् । र, पछिल्ला दुई वार्ता विपक्षी गठबन्धन बलियो बनाउने रणनीतिमा केन्द्रित छन् ।
बुधबार प्रधानमन्त्री केपी ओलीसहितका नेताले कांग्रेस सभापति देउवासहितका नेतासँग वार्ता गरेको अर्को दिन बिहीबार एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल पनि बुढानीलकण्ठ नै पुगेर देउवासँग भेटवार्ता गरेका थिए । त्यसको अर्को दिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुढानीलकण्ठ पुगेर विपक्षी गठबन्धनलाई बलियो बनाउने रणनीतिबारे छलफल गरेका छन् । देउवा र नेपालबीचको वार्ता पनि विपक्षी गठबन्धन बलियो बनाउने रणनीतिमै केन्द्रित थियो ।
संसद्मा विश्वासको मत लिने प्रधानमन्त्री ओलीको घोषणापछि कांग्रेस, माओवादी, जसपा र एमालेको खनाल–नेपाल समूहसहितको विपक्षी गठबन्धन ओलीको योजना असफल पार्ने रणनीतिमा छ । उता ओली भने सके विश्वासको मत लिने र नभए विपक्षीको सहयोगमा संसद् विघटन गरेर मुलुकलाई चुनावमा लैजाने योजनामा छन् । आजको नयाँ पत्रिकामा खबर छ l