संघीय अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षले केन्द्रीय कार्यकारिणी समितिमा बहुमतको आधारमा अविश्वासको प्रस्तावमा सघाउनेदेखि तत्काल संसद्को विशेष अधिवेशन बोलाउनेसमेतका निर्णय गर्दै हस्ताक्षरसमेत संकलन गरेको छ । केन्द्रीय कार्यकारिणी समितिको बैठक र त्यसका लागि एजेन्डा तय गर्न १४ वैशाखमा बसेको पदाधिकारी बैठक विनानिष्कर्ष सकिएपछि भट्टराई–यादव पक्षले बहुमतका आधारमा महत्वपूर्ण तीनवटा निर्णय लिएको हो ।
१५ वैशाखमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने भनेर उपत्यकाबाहिर रहेका नेतालाई त्यसअगावै भट्टराई–यादव पक्षले उपस्थितिका लागि सूचना पठाइसकेको थियो । तर, ठाकुर र महतो बैठकका लागि तयार नभएपछि आफूपक्षीय नेताहरूको उपस्थितिमा भट्टराई–यादवले केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेर निर्णय गरेका थिए । बैठकले लुम्बिनी प्रदेशका चारजना सांसदलाई अनुशासनको कारबाही गर्ने र प्रधानमन्त्री ओलीमाथि अविश्वासको प्रस्तावमा कांग्रेस–माओवादी गठबन्धनलाई सहयोग गर्ने निर्णय गरेको थियो ।
भट्टराई–यादव यादव पक्षले बहुमत पुग्ने गरी केन्द्रीय कार्यकारिणी र सांसदहरूको हस्ताक्षरसमेत संकलन गरेको स्रोतले बतायो । ‘बैठकमा लुम्बिनी प्रदेशका सांसदलाई अनुशासनको कारबाही गर्ने निर्णयसँगै बाँकी तीनवटा महत्वपूर्ण विषयमा हस्ताक्षर संकलन गरेका छौँ । तत्काल संसद्को विशेष अधिवेशन माग गर्नेे, अविश्वासको प्रस्तावमा सहयोग गर्ने र सरकार गठनका लागि बहुमत सांसद र केन्द्रीय कार्यकारिणी समितिका सदस्यको हस्ताक्षर भइसकेको छ,’ एक नेताले नयाँ पत्रिकासँग भने । उनका अनुसार केन्द्रीय कार्यकारिणीका ५१ मध्ये २८ जना र प्रतिनिधिसभाका ३२ मध्ये १८ जना सांसदको हस्ताक्षर संकलन भएको छ । आजको नयाँ पत्रिकामा खबर छ l