बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

भारतसँग जोडिएका ३५ मध्ये २२ नाका बन्द गरिने

शनिबार, बैशाख १८ २०७८

कोभिड– १९ संकट व्यवस्थापन निर्देशक समिति (सिसिएमसी)ले भारतसँगका २२ नाका बन्द गर्न सिफारिस गरेको छ । भारतबाट आउने धेरै व्यक्तिमा संक्रमण देखिएपछि ३५ मध्ये १३ नाका मात्रै सञ्चालन गर्न समितिले सिफारिस गरेको हो । 

सिसिएमसीको शुक्रबारको बैठकले काँकडभिट्टा, जोगवनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगन्ज, बेलहिया, कृष्णनगर, जमुनाह, झुलाघाट, कोलुघाट, गौरीफन्टा र गड्डाचौकी नाका मात्र सञ्चालन गर्न सिफारिस गरेको हो । यी नाकाबाट भित्रनेलाई पनि होल्डिङ सेन्टरमा राखेर मात्रै घर पठाइनेछ ।

बैठकले निषेधाज्ञालाई थप बलियो बनाउन पनि सिफारिस गरेको छ । उद्योगहरू सञ्चालन गर्न दिए पनि मजदुरलाई कार्यालयमै राख्नुपर्ने समितिको सिफारिस छ । 
कोरोना संक्रमणको दोस्रो लहर जिल्लाजिल्लासम्म फैलिएको छ । शुक्रबारसम्म अत्यधिक प्रभावित २३ जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । तीन जिल्लामा आंंशिक र २० मा जिल्लाभर नै निषेधाज्ञाको निर्णय भएको छ । 

गृह मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तथा प्रदेश नम्बर १ को झापा र सुनसरीमा निषेधाज्ञाको निर्णय भएको छ । झापामा आइतबार रातिदेखि जोर–बिजोर प्रणाली लागू गर्ने निर्णय भएको छ । सुनसरीमा शुक्रबार रातिदेखि पूर्ण रूपमा निषेधाज्ञा लागू भएको छ । 

प्रदेश नम्बर २ को पर्सामा मात्र निषेज्ञाधा छ । बागमती प्रदेशमा उपत्यकाबाहेक चितवनमा निषेधाज्ञा छ । काभ्रे र मकवानपुरलाई स्वास्थ्य मन्त्रालयले उच्च जोखिम भएको जिल्लाको सूचीमा राखिसकेको छ । यी जिल्लामा पनि निषेधाज्ञाको तयारी भइरहेको छ । 

गण्डकीको कास्कीमा जिल्लाभर तथा बाग्लुङको बाग्लुङ नगरपालिकामा धेरै संक्रमण देखिएका वडा नम्बर १२, १३ र १४ वडामा निषेधाज्ञा लागू गरिएको छ । लुम्बिनीको बाँके, रुपन्देही, पाल्पा, दाङमा निषेधाज्ञा लागू भइसकेको छ भने बर्दियामा आंशिक मात्र रहेकोमा २० वैशाखदेखि जिल्लाभरि नै लागू गर्ने निर्णय भइसकेको छ । 

कर्णालीका सुर्खेत, सल्यान, पश्चिम रुकुम र जाजरकोटमा जिल्लाभर तथा कालिकोटको खाँक्राचक्र गाउँपालिकाको वडा नम्बर ११ मा मात्र निषेधाज्ञा लागू गरिएको छ । त्यस्तै, सुदूरपश्चिमका कैलाली, कञ्चनपुर र डडेल्धुरामा जिल्लाभर तथा दार्चुलाको मार्मा गाउँपालिका, व्यास गाउँपालिकाको वडा नम्बर ६ र शैल्यशिखर नगरपालिकाको अधिकांश वडामा निषेधाज्ञा जारी गरिएको छ । आजको नयाँ पत्रिकामा खबर छ l