काठमाडौं, बैशाख १७ । महामारीको असर बिदेशी लगानी भएका बैंकहरुमा देखिएको छ । बिदेशी लगानी भएका तिनवटै बैंकसहित ५ वटा बैंकको नाफामा गिरावट आएको छ ।
यसरी विदेशी लगानी भएको र सबैभन्दा बढि नाफा घटाउने बैंकमा नेपाल एसबिआई अग्रस्थानमा रहेको छ। जसको नाफा ३९ दशमलव एक ६ प्रतिशतले घटेको छ । गत वर्षको चैत सम्म १ अर्ब ४३ करोड नाफा कमाएको यो बैंकले यो वर्षको सोहि अवधिमा भने ८७ करोड मात्रै नाफा कमाएको छ ।
त्यस्तै एभरेष्ट बैंकको पनि नाफा ३६ प्रतिशतले घटेको छ । बैंकले हालैमात्रै प्रकाशन गरेको वित्तीय विवरण अनुसार गत वर्ष २ अर्ब ३५ करोड नाफा कमाएको यो बैंकले यो वर्षको चैत मसान्तसम्म जम्मा १ अर्ब ५० करोड मात्रै कमाएको छ ।
त्यसैगरि स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत वर्ष १ अर्ब १६ करोड कमाएकोमा यो वर्षको सोहि अवधिमा १ अर्ब १० करोड नाफा कमाएको छ । अर्थात गत वर्षको तुलनामा यो वर्षको सोहि अवधिमा यस बैंकको नाफा ३४ प्रतिशतले गिरावट आएको छ ।
बिदेशी लगानीका ३ बैंक सहित एनसीसी र सेञ्चुरी बैकको पनि नाफा घटेको छ । सेञ्चुरी बैंकले गत वर्षको चैतको तुलनामा ६१ प्रतिशत कम र एनसीसीले ५ प्रतिशत कम नाफा गरेका छन् । 
यद्यपि २२ वटा बैंकले भने नाफा कमाएका छन् । गत वर्ष ४५ अर्ब २४ करोड नाफा कमाएका बैंकहरुले यो वर्षको सोहि अवधिमा यस्तो नाफा १२ दशमलव एक चार प्रतिशतले बढाउँदै ५० अर्ब ७४ करोड पुराएका छन् ।
बैंकहरुले यो आर्थिक वर्षको ९ महिनामा मात्रै ६ सय ६८ अर्ब बराबरको कर्जा लगानी गरेका छन् । गत वर्षको तुलनामा यस्तो लगानी २४ प्रतिशतले बढेको छ ।
त्यस्तै गत वर्ष खराब कर्जाका लागि १० अर्ब बराबरको प्रोभजनिङ गरेका बैंकहरुले यो वर्षको सोहि अवधिमा जम्मा १ अर्ब १२ करोड मात्रै छुट्याउनु परेको छ । यसरी कर्जा बिस्तारसँगै प्रोभजनिङ गरेर राख्नुपर्ने रकम समेत घटेकाले बैंकहरुको नाफा बढेको हो ।
२७ वटा बैंकमध्ये कुमारी बैंकले सबैभन्दा बढि नाफा बढाएको छ । यसले आफ्नो नाफामा ८३ दशमलव एक प्रतिशतको बृद्धि गरेको छ । यो सँगै नाफा उच्च बढाउनेमा नेपाल बंगलादेश, सिद्धार्थ, प्राइम र प्रभु रहेका छन् ।
सबैभन्दा बढि नाफा भने नबिल बैंकले कमाएको छ । जसले यो वर्षको ९ महिनामा ९ अर्ब ६७ करोड नाफा कमाएको छ, जुत गत वर्षको सोहि समयको तुलनामा १६ दशमलव पाच शुन्य प्रतिशतले बढेको छ ।