काठमाडौं – तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा र विजयप्रकाश मिश्रको अडियो टेप काण्ड नसेलाउँदै फेरि त्यही सेक्युरिटी प्रेसका लागि अर्को चलखेल शुरू भइसकेको छ ।
अडियो टेपले गर्दा बाँस्कोटाले सूचना तथा सञ्चारमन्त्रीबाट राजीनामा नै दिनुपरेको थियो ।
images
images
विवादमा परेको एउटा कम्पनीलाई सरकारले सेक्युरिटी प्रेस स्थापनाका लागि ठेक्का दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले विवादमा तानिएको म्याक्स इन्टरनेसन कम्पनीलाई ठेक्का दिएको छ ।
ठेक्का बोलकबोलमा दोस्रो नम्बरमा रहेको म्याक्स इन्टरनेसन कम्पनीलाई ठेक्का दिने आशयको सूचना केन्द्रले निकालेपछि बोलकबोलमा पहिलो नम्बरमा रहेको एलिमेक इन्टरनेसनल कम्पनी जिल्लिएको छ ।
टेन्डरमा एलिमेक इन्टरनेसनल कम्पनी प्रालिले ६७ करोड रुपैयाँ उल्लेख गरेको थियो भने म्याक्स इन्टरनेसनल कम्पनीले ७३ करोड ८८ लाख ९८ हजार ७४० र वल्र्ड डिस्ट्रिब्युसन नेपाल प्रालिले ८१ करोडमा बोलकबोल गरेको थियो ।
कम्पनीलाई ठेक्का दिँदा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेको भए पनि सुरक्षण मुद्रण केन्द्रले अख्तियारलाई समेत बेवास्ता गर्दै म्याक्स इन्टरनेसनल कम्पनीसँग ठेक्का सम्झौता गरेको छ ।
गत चैत २७ गते अख्तियारले ठेक्काको फाइल तानेर लगेकै दिन केन्द्रका प्रमुख विकल पौडेल र कम्पनीका मालिक अकवर हुसेनले ठेक्का सम्झौतामा हस्ताक्षर गरेका हुन् । केन्द्रले अख्तियारले फाइल लगेको तेस्रो दिन म्याक्स इन्टरनेसनको नाममा १४ करोड भुक्तानी समेत दिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई चुनौती दिएको छ ।
म्याक्स इन्टरनेसनलले अनलाइन बिडिड गर्दा ८१ करोड मूल्य उल्लेख गरेको भएपनि सम्झौता गर्दा भने ७३ करोड ८८ लाख ९८ हजार ७४० रुपैयाँमा सम्झौता गरेको पाइएको छ । म्याक्स इन्टरनेसनले चीनमा बनेको एचपी कम्पनीको मशिन खरिद गरेर उपलब्ध गराउने उल्लेख गरेको थियो । एलिमेक इन्टरनेसनल कम्पनीले इटालीमा बनेको डट्स कम्पनीको मशिन उपलब्ध गराउने उल्लेख गरेको थियो ।
एलिमेक इन्टरनेसनल कम्पनीले ६७ करोडमा मशिन खरिद गरेर जडान गरी सञ्चालनमा ल्याएर केन्द्रलाई हस्तान्तरण गर्ने उल्लेख गरेको थियो । सरकारले सम्झौता गरेको म्याक्स इन्टरनेशनल कम्पनीले मशिन खरिद गरेर नेपाल ल्याएपछि सबै भुक्तानी गर्ने गरी सम्झौता गरेकाले प्रेस सञ्चालनमा आउने सम्भावना निकै कम रहेको विज्ञहरूले जनाएका छन् ।
प्रधानमन्त्रीका आईटी सल्लाहकार अस्गर अलिसँग मिलेर म्याक्स इन्टरनेससन प्रालिले सरकारी काम तथा जताततै टेण्डर पारिराखेको स्रोतको आरोप लागेको छ । ‘गोकुल बाँस्कोटाको त्यस्तो ठूलो काण्ड नसेलाउँदै फेरि त्यही सेक्युरिटी प्रेसमा चलखेल गर्न माथिको आशिर्वाद नभए कसले आँट गर्न सक्छ र ?’ स्रोतले भन्यो । समाचारबारे म्याक्स इन्टरनेसनल प्रालिका प्रबन्ध निर्देशक अक्वर हुसेनसँग पटक–पटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन सकेन । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार प्रकाशित छ ।