शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

कोरोनाको चपेटामा लुम्बिनी र सुदूरपश्चिम प्रदेश

सोमबार, बैशाख १३ २०७८

नेपालगन्जस्थित भेरी अस्पतालको कोरोना वार्डबाहिर एउटा शव राखिएको छ । आइसोलेसनमा भर्ना भएका कोरोना संक्रमितका आफन्त र भर्नाका लागि आउनेहरू शवको छेउ भएर यताउता गरिरहेका छन् । शवको वरिपरि आफन्त पनि कोही देखिँदैनन् । कोरोना अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी घरी यता घरी उता गरिरहेका छन् । शव कुर्ने र हेर्ने कोही छैनन् । मुख्य सडक नजिकैको कुनाजस्तो ठाउँमा राखिएको शव प्लास्टिकको झोलामा प्याक गरिएको छ । स्ट्रेचरमा राखिएको शव हेर्ने कसैको ध्यान छैन । नजिकै ड्युटीमा रहेका कोरोना विशेष अस्पतालका सेक्युरिटी गार्डले शवतर्फ वेला–वेला पुलुक्क हेर्छन्, तर केही बोल्दैनन् । 

आइतबार दिउँसो ४ बजेतिर भेरी अस्पतालको कोरोना अस्पतालबाहिर अर्को शव राखिएको छ । चर्को घाममा राखिएको शव हेर्ने पनि कोही छैनन् । निलो प्लास्टिकको झोलामा प्याक गरिएको शव वरिपरि आफन्त र अस्पतालका कोही पनि छैनन् । शवभन्दा झन्डै २० मिटर ढाटा बसेका तीनजना व्यक्ति शवलाई नियालिरहेका छन् । सायद उनीहरूको आफन्तको शव हुनुपर्छ । एउटा शव बाहिर र अर्को शव आइसोलेसन बाहिर रहेकै वेला साइरन बजाउँदै एम्बुलेन्स भेरी अस्पताल परिसरमा प्रवेश गर्छ । र, शव नजिकै आएर रोकिन्छ । एम्बुलेन्स शव लिन आएको जानकारी पाएपछि केही पर बसेकाहरू झटपट उठ्छन् र मोड्न लगाउँछन् । तर, एम्बुलेन्स आएको आधा घन्टासम्म शव उठ्न सकेन । 

 अस्पताल परिसरमा स्वाब दिनेको भिडभाड
भेरी अस्पतालको प्रयोगशालाअगाडि स्वाब दिनेको भिडभाड छ । स्वाब दिन बिहानै आएकाहरूले ४ बज्दासमेत पालो पाएका छैनन् । पालो आउने व्यग्र प्रतीक्षामा रहेकाहरूको अनुहार मलिन छ । दिनभर घाममा बसेर पालो कुरेकाहरू थकित देखिन्छन् । पालो आएपछि युद्ध जितेभन्दा ठूलो उपलब्धि ठान्दछन् सर्वसाधारण ।

नेपालगन्ज उपमहानगरपालिका–२० का प्रकाश शर्मा पनि पिसिआर परीक्षणका लागि स्वाब दिने लाइनमा छन् । बिहान १० बजे भेरी अस्पताल पुगेको बताउने उनको पालो आउने कुनै पत्तो छैन । ‘छिटो पालो आउने आशामा खाना नखाएर आएँ, तर अहिलेसम्म पालो आएको छैन । जतिवेला पालो आए पनि बस्नै पर्‍यो,’ उनले भने । 

बाँकेमा कोरोना संक्रमण बढेसँगै पिसिआर परीक्षण गराउन आउनेको संख्या पनि बढेको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापाले बताए । उनले पछिल्लो समय दैनिक पाँच–सात सयको हाराहारीमा कोरोना परीक्षणका लागि स्वाब दिने गरेको बताए । ‘स्वाब परीक्षण गराउन आउनेको भिड थामिनसक्नु छ । शुल्क सस्तो र भरपर्दो भएर होला अधिकांश सर्वसाधारण भेरीको ल्याबमा जाँच गराउँछन्,’ डा. थापाले भने । 

 कोभिड वार्डको सबै बेड भरिभराउ
भेरी अस्पताल विशेष कोरोना अस्पतालको कोभिड वार्ड प्रसूतिगृहका लागि निर्माण गरिएको भवनमा सञ्चालन भइरहेको छ । एक सय ४२ बेडको वार्डका सम्पूर्ण बेड बिरामीले भरिएको छ । वार्डमा स्वास्थ्यमा जटिल समस्या देखिएका कोरोनाका बिरामीलाई मात्र राखिएको छ । वार्डमा रहेका अधिकांशको मुखमा अक्सिजन लगाइएको छ । त्यहाँ पुग्दा कोही खोक्दै थिए ।

मुखमा अक्सिजन लगाएका कोही बसेर टुलुटुलु हेरिरहेका थिए । कोही बेडमा सुतिरहेका थिए । कुनै बिरामीका आफन्तनजिकै बसेर आफ्नो बिरामी नियालिरहेको देखिन्थ्यो । समस्या भएका बिरामीलाई वार्डमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीले उपचार गरिरहेका थिए । वार्ड एकछिन पनि छोड्न मिल्दैन । ‘एकछिनमै बिरामीलाई समस्या भयो भनेर आफन्नहरू दौड्दै आइहाल्छन्,’ भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेले भने, ‘आराम गर्ने फुर्सद एकछिन छैन ।’

 आइतबारसम्म ३७ संक्रमितको मृत्यु
भेरी अस्पतालमा दैनिक तीन–चारजना कोरोना संक्रमितको मृत्यु हुने गरेको अस्पताल प्रशासनले जनाएको छ । आइतबार मात्रै १० जना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापनले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार १ देखि १२ वैशाखसम्म ३७ जनाको मृत्यु भएको छ । ११ वैशाखसम्म बाँकेमा दुई हजार नौ सय तीनजनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)का फोकल पर्सन तेजबहादुर ओलीले बताए । आजको नयाँ पत्रिकामा खबर छ l