जनता आफैँ सतर्क बनौँ किनकि सरकारको तयारी यस्तो छ : वीर, पाटन, पोखरा र धरानजस्ता प्रमुख अस्पतालका अक्सिजन प्लान्ट एक वर्षअघि नै बिग्रिएका हुन्, यो महामारीमा समेत बनेका छैनन् ।
कोभिड महामारी बढ्दै गएकाले नेपालमा अक्सिजनको चरम संकट हुने देखिएको छ । तर, देशका प्रमुख वीर, पाटन, धरान र पोखरा अस्पतालमा वर्षौँअघि बिग्रिएका अक्सिजन प्लान्ट अझै बनेका छैनन् । यही वेला टेकु अस्पतालको प्लान्ट पनि खाली भएकाले सिलिन्डरबाट अक्सिजन दिन थालिएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार ८० प्रतिशत कोरोना संक्रमित सामान्य अवस्थाका हुन्छन् । १५ प्रतिशत लक्षणसहितका र पाँच प्रतिशत गम्भीर बिरामी हुन्छन् । तर, २० प्रतिशत बिरामीलाई कुनै पनि वेला अक्सिजन दिनुपर्ने हुन सक्छ । कोभिडको कुनै औषधि छैन, गम्भीर बिरामीलाई अक्सिजन नै ‘लाइफलाइन’ हो । प्लान्टबाट बेडसम्म जोडिएको प्रणालीले मात्र बिरामीलाई निरन्तर अक्सिजन सप्लाईको ग्यारेन्टी गर्छ । तर, यत्रो महामारीका वेला समेत ठूला सरकारी अस्पतालले प्लान्ट बनाएनन् ।
चिकित्सकका अनुसार कोरोना भाइरसले मुख्य गरी फोक्सोमा निमोनिया गराउने र अक्सिजन आयातमा ह्रास ल्याउँछ । ‘सामान्यतया अरू बिरामीको रगतमा अक्सिजन स्याचुरेसन ९० पुग्दा अक्सिजन दिने गरिन्छ । तर, कोभिड सीधै फोक्सोसँग सम्बन्धित भएकाले अक्सिजन लेभल ९४ बाट तल झर्नासाथ अक्सिजन दिनुपर्छ,’टेकु अस्पतालका चिकित्सक डा. अनुप बास्तोलाले भन्छन् ।
कोरोना संक्रमित धेरै बढेकाले सबैलाई सिलिन्डरबाट अक्सिजन सेवा प्रवाह गर्न सहज नहुने बताउँछन् चिकित्सकहरू । सिलिन्डरको अक्सिजन सकिएका वेला तुरुन्त प्रतिस्थापन नभएमा बिरामीको मृत्युसमेत हुन्छ । तर, अस्पतालहरू यो जोखिम लिन तयार देखिएका छैनन् ।
देशभर निजी र सरकारी गरी ३० वटा अक्सिजन प्लान्ट छन् । तर, एक सय २५ सरकारी अस्पतालमध्ये १६ मा मात्रै अक्सिजन प्लान्ट छन्, त्यसमा पनि चार सञ्चालनमा देखिएको छ । एक वर्षअघिदेखि बिग्रिएका प्लान्ट अहिलेसम्म पनि मर्मत गर्ने पक्षमा सरकार र अस्पताल दुवै छैनन् । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले उपत्यकाभित्र टेकु अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र शिक्षण अस्पताल तथा थापाथली प्रसूतिगृहमा मात्रै प्लान्ट सञ्चालनमा छन् ।
त्यस्तै उपत्यकाबाहिरका सरकारी अस्पतालमध्ये कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, डडेल्धुरा अस्पताल, सेती प्रादेशिक अस्पताल, बयलपाटा अस्पताल, सुर्खेत प्रादेशिक अस्पताल, हुम्ला जिल्ला अस्पताल, धौलागिरि अस्पताल, पर्वत जिल्ला अस्पताल, गोरखा जिल्ला अस्पताल, त्रिशूली अस्पताल, भरतपुर अस्पताल, कोसी अस्पताल र धनकुटा अस्पतालमा अक्सिजन प्लान्ट छन् ।
निजी अस्पतालमध्ये अल्का, ग्रान्डी, नर्भिक, चितवन मेडिकल कलेज, चुरेहिल अस्पताल, माया मेट्रो अस्पताल कैलाली, चोपेडा अस्पताल डोटी, गण्डकी मेडिकल कलेज, फिस्टेल अस्पताल, फ्यु सिटी अस्पताल, नोबेल मेडिकल कलेज, न्युरो कार्डियो अस्पताल, बी एन्ड सी अस्पताल र मेरो अस्पतालमा अक्सिजन प्लान्ट जडान भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलका अनुसार सरकारले अक्सिजन आयात गर्ने उद्योगीसँग छलफल सुरु गरेको छ । ‘खासमा कोभिड तीव्र गतिमा फैलिएकाले भारतले अक्सिजन निर्यातमा कडाइ गरेको छ । त्यसको असर नेपालमा पनि पर्छ । नेपाली उद्योगीले भारतबाट पर्याप्त अक्सिजन ल्याउन सकेका छैनन्, त्यसैले उनीहरूसँग छलफल गरेका छौँ,’ डा. पोखरेलले भने ।
उनले नेपाली अक्सिजन उत्पादकलाई धेरैभन्दा धेरै उत्पादन गर्न अनुरोध गरेको पनि बताए । ‘नेपालमा अक्सिजन उत्पादन गर्ने करिब २० कम्पनी छन् । यो महामारीको समयमा धेरैभन्दा धेरै अक्सिजन उत्पादन गर्न नेपाली उद्योगहरूलाई अनुरोध गरेका छौँ,’ उनले भने ।