शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

‘सी’ लिगमा बढुवा भएको एक वर्ष नपुग्दै च्याम्पियन बन्दै चर्च ब्वाइज बी डिभिजनमा

मंगलबार, चैत्र ३१ २०७७

काठमाडौं । चर्च ब्वाइज युनाईटेडले सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ ।

सोमबार भएको सुपर सिक्सको अन्तिम लिग खेलमा झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले उपाधि जितेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा चर्च ब्वाइजलाई जित दिलाउन रिजन माझी र सोम थापाले एक एक गोल गरे । झापाका श्यामु मुर्मुले एक गोल फर्काए ।

रिजनको २० औं मिनेटमा गोल गर्दै चर्चलाई अग्रता दिलाएका थिए । २७ औं मिनेटमा सोमले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।

पहिलो हाफको इन्जुरी समयमा झापाका श्यामुले एक गोल फर्काएपनि चर्च २-१ ले विजयी भयो ।

उपाधिसँगै चर्च ब्वाइज ‘बी’ डिभिजन लिगमा बढुवा समेत भएको छ । चर्चले १० लाख नगद समेत प्राप्त गर्यो ।

‘सी’ लिगमा बढुवा भएको एक वर्ष नपुग्दै चर्च ब्वाइज ‘बी’ लिगमा बढुवा भएको हो ।

चर्चले उपाधि जित्ने क्रममा १० अंक जोड्यो ।

यस्तै विरगंज युनाइटेड क्लब र सामाजिक युवा क्लब पनि ‘बी’ लिगमा बढुवा भएको छ ।

खालीबारी युथ क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै विरगंज बढुवा भएको हो । विरगंज ‘सी’ मा बढुवा भएको एकै वर्षमा ‘बी’ लिगमा उक्लिएको हो ।

सामाजिक भने २ वर्षपछि ‘बी’ लिगमा बढुवा भएको हो । सामाजिकले अन्तिम लिग खेलमा विरगंज युथ एकेडेमीलाई १-० गोल अन्तरले पराजित गर्यो । 

दोस्रो भएको विरगंजले ७ लाख र तेस्रो भएको सामाजिकले ४ लाख प्राप्त गरेको छ ।

सानोगौचरण युवा क्लब ‘सी’ डिभिजनबाट घटुवा भएको छ ।