शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

आहा रारा गोल्डकपः पुलिसलाई हराउँदै अफ्रिकन रुट फाइनलमा

शुक्रबार, चैत्र २७ २०७७

पोखरा । अफ्रिकन रुट एसोसियसन पोखरामा जारी १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै अफ्रिकन रुट उपाधि नजिक पुगेको हो ।

अफ्रिकनलाई जित दिलाउन बासेक र मौसाले एक एक गोल गरे ।

खेलको तेस्रो मिनेटमा बासेकले गोल गर्दै अफ्रिकनलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको इन्जुरी समयमा मौसाले गोल गर्दै अफ्रिकनलाई २-० को जित दिलाए ।

खेलको म्यान अफ दि म्याच मौसा चुनिए ।

पहिलो पटक सहभागिता जनाएको अफ्रिकन पहिलो पटक फाइनल पुगेको हो । 

सर्वाधिक ६ पटकको च्याम्पियन पुलिस भने सेमिफाइनलबाटै बाहिरिएको छ ।

प्रतियोगिताबाट बाहिरिएपछि पुलिसका प्रशिक्षक अनन्त राज थापाले सुरुवातमा गोल खानु दुर्भाग्य भएको बताए ।

‘खेलको सुरुवातमै गोल खानु हाम्रो लागि दुर्भाग्य भयो । उनीहरुको टिम शारीरिक रुपमा फिट र राम्रो छ । त्यसैले पनि हामीलाई गार्हो भयो,’ उनले भने ।

अफ्रिकनका प्रशिक्षक सिंगे बोरिसले सुरुवातमै गोल गरेपछि जित निकाल्न सजिलो भएको बताए ।

‘खेलको सुरुवातमै गोल गरेर हामीलाई सजिलो भयो । अर्को खेलमा आजको भन्दा राम्रो गर्ने योजना हुनेछ,’ उनले भने ।

अब उपाधिका लागि अफ्रिकनले संकटा क्लबसँग खेल्नेछ । 

संकटा क्लब एपीएफलाई हराएर फाइनल पुगिसकेको छ । फाइनल खेल शनिबार हुनेछ ।

प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

व्यक्तिगत विधातर्फ सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।